काठमााडौँ – अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रमा अहिले देखिएका समस्या समाधानका लागि वित्त नीतिबाट भन्दा मौद्रिक नीतिको व्यवस्थापनबाट सम्भव हुने बताएका छन् ।
बैंक तथा वित्तीय संस्था परिसङ्घ, नेपाल (सिबिफिन)ले आज काठमाडौँमा आयोजना गरेको ‘नेपाल व्यवसाय शिखर सम्मेलन २०२३’ मा अर्थमन्त्री महतले वित्त नीति चलाउनका लागि सरकारसँग धेरै विकल्प नरहेकाले मौद्रिक नीतिबाट समस्या समाधानका लागि पहल थालिने बताए ।
“वित्त नीति कार्यान्वयनमा हाम्रो क्षमता बढ्न सकेको छैन । हामीले वित्त नीतिबाट पुँजी प्रवाह गर्न सकेका छैनौँ । फिस्कल स्पेस बढाउनका लागि स्रोत छैन”, उनले भने । मौद्रिक नीति र वित्त नीतिको समन्वयकारी प्रयोगबाटै अर्थतन्त्रलाई चलायमान गरिने भए पनि अर्थमन्त्री महतले अहिले सरकारी राजस्व सङ्कलन न्यून हुँदा वित्त नीतिमार्फत सरकारले धेरै काम गर्न सक्ने अवस्था नरहेको उल्लेख गरे ।
“समन्वयात्मक र साझा लक्ष्य प्राप्तिका लागि काम गर्नुपर्ने बेला भएको छ । नेपाल राष्ट्र बैंकले यही महिनाको अन्तिमसम्ममा समीक्षा गर्ने तयारी भइरहेको छ । मौद्रिक उपकरण चलाएर ब्याजदर घटाउन सकिन्छ”, अर्थमन्त्री महतले भने, “वित्त नीतिमार्फत पुँजी परिचालन गर्नका लागि स्रोत न्यून छ । सरकारी राजस्व असुली कमजोर छ । त्यस कारण मौद्रिक उपकरण चलाएर ब्याजदर घटाइ लगानीको वातावरण सिर्जना गर्नतर्फ हामी केन्द्रित हुनुपर्छ ।”