तीज म्युजिक अवार्डको पाँचौँ संस्करण : भुवन के पोखरेल सर्बोत्कृष्ट मोडल घोषित

0 Shares

काठमाडौं- तीज पर्वको अवसर पारेर आयोजना गरिएको ‘म्युजिक खबर तीज म्युजिक अवार्ड’ को पाँचौँ संस्करण भव्य रूपमा सम्पन्न भएको छ । राजधानीको बानेश्वरस्थित क्रिस्टल पार्टी भेन्युमा आयोजित समारोहमा विभिन्न विधाका कलाकार तथा समाजका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने महिलालाई सम्मान तथा अवार्ड प्रदान गरिएको हो ।

समारोहमा गायिका यशोदा पराजुली र टिका पुनलाई ‘आर्टिस्ट अफ नेपाल नारी रत्न सम्मान’ प्रदान गरिएको थियो । त्यस्तै, गायिका कमला रिसाललाई ‘आर्टिस्ट अफ नेपाल साहित्य सम्मान’, अभिनेत्री न्यान्सी खड्कालाई ‘आर्टिस्ट अफ नेपाल चलचित्रकर्मी सम्मान’ तथा सोझना लोहोरलाई ‘आर्टिस्ट अफ नेपाल कला पत्रकारिता सम्मान’ बाट सम्मानित गरिएको थियो ।

समारोहमा चर्चित फेसन डिजाइनर काजल शर्मा ‘आर्टिस्ट अफ नेपाल फेसन सम्मान’, शीतल शर्मा र अनिता कुँवर ‘आर्टिस्ट अफ नेपाल राष्ट्रिय गायन सम्मान’ बाट सम्मानित भए । सृष्टि घिमिरेलाई ‘आर्टिस्ट अफ नेपाल कोरियोग्राफी सम्मान’, अभिनेत्री तथा पर्वतारोही छिरिङ शेर्पालाई ‘आर्टिस्ट अफ नेपाल कला सम्मान’, जयन्ता अधिकारीलाई ‘आर्टिस्ट अफ नेपाल सम्मान’ तथा अञ्जु परिवारलाई ‘आर्टिस्ट अफ नेपाल सामाजिक सेवा सम्मान’ प्रदान गरिएको थियो । कानुनविद् कमला वलीलाई ‘आर्टिस्ट अफ नेपाल राष्ट्रिय सेवा सम्मान’ बाट सम्मानित गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा तीजका विभिन्न विधामा उत्कृष्ट ठहरिएका कलाकारलाई पनि अवार्ड प्रदान गरिएको थियो । उत्कृष्ट तीज गीततर्फ गायक–गायिकाले विभिन्न विधामा पुरस्कार हात पारे । उत्कृष्ट तीज गीतको संगीत संयोजनतर्फ कृष्ण केसी, उत्कृष्ट कोरियोग्राफरतर्फ जेरी भण्डारी तथा उत्कृष्ट तीज गीतको भिडियो मोडलतर्फ महिलातर्फ नारायणी खत्री र पुरुषतर्फ भुवन के पोखरेलले अवार्ड जिते ।

त्यस्तै, उत्कृष्ट तीज गीत भिडियोतर्फ कर्णाली सेलको गीतबाट नारायणी खत्री उत्कृष्ट ठहरिइन् । पुरुषतर्फ भुवन के. पोखरेलको अभिनय रहेको गीत उत्कृष्ट घोषित भयो । पोखरेल सप्तरी जिल्ला निवासी पनि हुन।
उत्कृष्ट तीज गीत संयुक्त मोडलतर्फ झरना रिसाल र दिप्ती कार्कीले अवार्ड हात पारे । बुलेट बाइक विधाको अवार्ड पूर्णिमा आचार्यले जितिन् भने उत्कृष्ट तीज गीत भिडियो निर्देशकतर्फ निशान बानियाँले अवार्ड पाए । उत्कृष्ट तीज गीत भिडियो छायांकनतर्फ देवराज आचार्य, उत्कृष्ट कोरियोग्राफरतर्फ जेरी भण्डारी तथा उत्कृष्ट तीज गीत संयुक्त गायनतर्फ रिता बुढाथोकी र समीक्षा अधिकारी उत्कृष्ट घोषित भए ।

उत्कृष्ट तीज दोहोरी शब्दतर्फ कृष्ण लामिछानेले अवार्ड जिते । उत्कृष्ट मौलिक तीज गीततर्फ सरिता घिमिरेको ‘नाचौँ न छमछमी’ तथा विपिन किरणको ‘नाच छमछम’ ले अवार्ड हात पारे । उत्कृष्ट तीज गीत गायिकातर्फ चाँदनी शाहीले पुरस्कार जितिन् । त्यस्तै, उत्कृष्ट तीज दोहोरी गीतकारतर्फ डा. अनिता रञ्जितकारले ‘नाचौँ न संगिनी’ गीतबाट अवार्ड प्राप्त गरिन् भने ‘छक्कै पर्यो’ गीतबाट शारदादेवी अधिकारीले जुरी अवार्ड हात पारिन् । उत्कृष्ट तीज गीत पियानोवादकका रूपमा ‘चट्टै परेर’ गीतबाट पियुष मलाहाले अवार्ड पाए । उत्कृष्ट म्युजिक कम्पनीतर्फ ‘छेक्यो बरै बादलुले’ गीतबाट हमाल म्युजिक कम्पनी उत्कृष्ट घोषित भयो । ‘नौरती फूली’ गीतबाट दीपक शर्मा लोकप्रिय संगीतकार बन्न सफल भए ।

उत्कृष्ट जुरी अवार्डतर्फ मौलिक तीज गीत ‘कमैकोटी छ’ बाट सुनील केसी तथा ‘चरी भएँ त’ बाट राधा हमालले अवार्ड जिते । उत्कृष्ट तीज दोहोरी गायिकातर्फ ‘नाचौँ न छमछमी’ गीतबाट विपिन आचार्यले अवार्ड हात पारे । उत्कृष्ट तीज गीत शब्दतर्फ ‘कमैकोटी छ’ गीतबाट कृष्ण केसी, उत्कृष्ट तीज दोहोरी गायिकातर्फ ‘चरी भएँ त’ गीतबाट राधा हमाल तथा उत्कृष्ट म्युजिक एरेन्जरतर्फ ‘नाचौँ न छमछमी’ गीतबाट विपिन आचार्यले अवार्ड प्राप्त गरे ।

कार्यक्रममा उत्कृष्ट तीज गीत ‘चरी भएँ त’बाट आशा बुढाले ‘पब्लिक च्वाइस अवार्ड’ जितिन् । उत्कृष्ट इन्स्ट्रुमेन्टल अवार्ड संगीतकारतर्फ ‘रिमझिमै घुमौँला फिरौँला’ गीतबाट रमेशराज भण्डारीले हात पारे । कार्यक्रमको सञ्चालन सेसेमी लिम्बूले गरेकी थिइन् । नेपाली सांगीतिक जगतकी वरिष्ठ गायिका मीरा राणाको प्रमुख आतिथ्य तथा अवार्ड आयोजक समितिकी अध्यक्ष सबिता पोखरेलको सभापतित्वमा समारोह सम्पन्न भएको थियो ।

समारोहमा वरिष्ठ कलाकार मोहन निरौला, मदनदास श्रेष्ठ, गीतकार संघ नेपालका अध्यक्ष बसन्त बित्यासीलगायत कलाकार, संगीतकर्मी, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो । कार्यक्रममा गायिका प्रीति आले र गायक खुमन अधिकारीले सांगीतिक प्रस्तुति दिएका थिए । आयोजकका अनुसार तीजको मौलिकता, सांस्कृतिक परम्परा र नेपाली संगीतको प्रवर्द्धन गर्ने उद्देश्यले अवार्ड आयोजना गरिएको हो ।

सम्बन्धित समाचारसबै