काठमाडौँ – प्रहरीले पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको घरमा खानतलासी गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले रायमाझीको सातदोबाटोस्थित घरमा खानतलासी गरेको हो । प्रहरीले पक्राउ पुर्जी जारी गरेपनि उनी हालसम्म फेला पर्न नसकेपछि प्रहरीले खोजी गर्ने क्रममा रायमाझीको निवासमा खानतलासी गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दानबहादुर कार्कीले अर्घाखाँचीबाट निर्वाचित सांसद रायमाझीको निवासमा खानतलासी लिइएको बताए । निवासमा खानतलासी गरिएपनि रायमाझी भने फेला परेनन् । प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि अर्घाखाँची हुँदै भैरहवासम्म आइपुगेका उनी त्यहाँबाट भने सम्पर्कविहीन बनेका थिए । रायमाझी र उनका छोरा सन्दीपविरुद्ध वैशाख २० मा वारेन्ट जारी भएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँले जिल्ला अदालत काठमाडौँबाट दुबैजनाविरद्ध पक्राउ पुर्जी लिएको थियो ।