शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री उपप्रधानमन्त्रीको नाम आउनु लज्जास्पद हो : लिङ्देन

0 Shares

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता राजेन्द्र लिङदेनले नक्कली भुटानी शरणार्थी प्रकरण भ्रष्टाचारको विषयमा मात्र नभई ठगी, राज्यविरुद्धको अपराध, सङ्गठित अपराध र सरकारी कागज किर्ते सम्बन्धी जघन्य अपराध भएको बताएका छन् । प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद लिङदेनले यो प्रकरणमा सरकारले हालसम्म गरेको काम कारबाहीबारे जानकारी गराउन पनि उनले माग गरे ।

उनले भने–‘नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको चर्चा परिचर्चा भइरहेको छ यो केबल आर्थिक भ्रष्टाचार वा अङ्कसँग जोडिएको मात्र भ्रष्टाचार हैन । यो ठगी, राज्यविरुद्धको अपराध, संगठित अपराध र सरकारी कागज किर्ते सम्बन्धी अर्थात यो एक प्रकारको जघन्य अपराध हो । यसमा संलग्न कुनै पनि मानिसलाई छुट दिने कल्पना त कुरै नगरौँ यसलाई कुनै पनि बहानामा कमजोर बनाउने, यसबाट कसैलाई उन्मुक्ति दिने काम सरकारले गर्न हुँदैन ।’

उनले अगाडि भने–‘अहिले पछिल्लो दिनमा यसबारे प्रहरीले अनुसन्धान नगर्ने हो कि, अख्तियारलाई बुझाउने हो कि ? भन्ने जस्ता तर्कहरु पनि कहिँकतैबाट आउन थालेका छन् । यस प्रकारको गल्ती सरकारबाट नहोस् भन्न चाहन्छौँ । यस्तो जघन्य अपराधमा देशको बेइज्जती गर्ने, देशको शिर झुकाउने खालको क्रियाकलापमा पूर्व गृहमन्त्रीहरू, उपप्रधानमन्त्री समेत भएका मानिसहरूको समेतको नाम आउनु लज्जास्पद काम हो । यसको बारेमा अझ व्यापक रूपमा जानकारी हुन आवश्यक छ ।

सभामुख देवराज घिमिरेले सांसद लिङदेनले उठाएको विषयप्रति सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

सम्बन्धित समाचारसबै