जिवनमा सफलता केलाई भन्ने?

0 Shares

विभुषण राई

काठमाडौं। जीवनमा सफलता केलाई भन्ने ? जीवन कसरी सफल तुल्याउन सकिन्छ ? केलाई जीवनको सफलता मान्ने ? या फेरि कुन कुरा प्राप्त गरे भने आफूलाई सफल मान्ने ? अर्को शब्दमा, जीवनका कुन कुन आकांक्षाहरू पूर्ति भएमा अथवा कसले भन्ने कि तिम्रो जीवन सफल भयो भनेर। फेरि, जीवनको सफलता कहाँ पुगेर नाप्ने ? कहिले आफ्नो सफलतामा गौरव गर्ने ? पढाइ सकेर नयाँ जीवनको सुरुआत गर्दा ? आफ्नो पेसामा माथिल्लो दर्जामा पुग्दा ? सेवानिवृत्त भएर भागवत समात्दा या फेरि मृत्यु शैय्यामा पुग्दा ? यी प्रश्नहरू यहाँ तेर्सिनु अघिसम्म सफलताको अर्थ कति सरल र सहज लाग्थ्यो, तर यो कति गहन र कति उल्झिएको छ। आज जुन कुरालाई लिएर हामी आफ्नो सफलता मान्छौं र गर्वका साथ डंका पिटेर हिँछौँ, के यो परिवर्तनशील जगत्मा भोलि पनि आजकै अवस्था रहिरहन्छ होला त ? राति सुतेर बिहान उठ्दाको परिस्थिति त्यही नै हो त ? हो ! सरसर्ती हेर्दा हिजो पनि त्यही कुर्सी थियो, आज पनि त्यही कुर्सी छ। हिजो अफिसको टेबलमा छोडेर आएको फाइल आज पनि जहाँको त्यहीँ नै छ। भन्न खोजेको के भने सफलताको कुनै समय सीमा हुन्छ कि हुँदैन ? समय त बितिरहेकै छ।

आजको सफलता भोलि असफलतामा परिणत हुन के बेर र ? आजको असफलता भोलिका लागि जग बन्ने सम्भावना पनि त्यतिकै प्रबल छ। जीवनका हरेक क्षण र पलहरूले परिवर्तन निम्त्याइरहेको हुन्छ। घडी हेरेर परिवर्तनलाई मापन गर्न सकिन्न। घडीले त समय मात्र देखाउँछ, परिवर्तन तपाईंको शरीरमा, विचार र प्रकृतिमा आइरहेको हुन्छ। तत्कालीन परिस्थितिमा यो सफल, यो असफल भने पनि समय चक्रमा उल्टा सावित पनि हुन सक्छ। यस अर्थमा सफलता र असफलता समय र परिस्थिति सापेक्ष हुन्छ। त्यसैले यहाँ कसैले आज गर्व गर्नु छैन या फेरि दुःख मनाउ पनि छैन। आजका पुस्ताले नदेखेका कुरा भोलिका पुस्ताले देख्छन्। सफलताका आधार हाम्रो जीवन सबै विषयको संगमस्थल हो। एकको चर्चा गर्न अर्काको आधार आवश्यक हुन्छ।

सफलताको कडी पनि यिनै हो। कोही पनि, कहीँ पनि सफल हुन कुन समय परिस्थितिमा अन्य कति जनाको सहयोग लिएका हुन्छौं हामी। अनि विगतलाई बिर्सिएर आज भएको प्राप्तिलाई गौरव साथ आफ्नो सफलता भनेर गर्व गर्छौं हामी। के नेपालमा आएको परिवर्तनमा आजको पुस्ताको मात्र पुरुषार्थ छ त ? के आजको दिन आउन हिजोको पुस्ताको केही योगदान छैन त ? हिजोको सफलता, असफलता आजको परिस्थितिमा कसरी मूल्यांकन गर्ने ? नेपालको इतिहासलाई पुनरावलोकन गर्ने हो भने कुन कुन राजनीतिक घटनाहरू सफल भए, कुन असफल भए ? साथै कसको नेतृत्वले यो देशलाई कुन उचाइमा लग्यो भने कुन कुन नेताको नेतृत्वले देशलाई भड्खालोमा फसाइदियो। यो एक अति नै गहन विषय भएर आज सन्दर्भ निक्लेको हो। इतिहासलाई पल्टाउँदा यो देशका राजनेताहरूलाई सफलता र असफलताको कसीमा राखेर हेर्दा तत्कालीन समयमा र उनिहरुका जीवनकालमा को सफल र को असफल मूल्यांकन गर्न सकिन्छ।

पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानदेखि बहादुर शाहको सीमा विस्तार, अंग्रेजसँग भिड्ने नेपालका वीर सपुतहरू,  १९९७ सालका राणा शासनविरुद्ध पर्चा काण्डमा मृत्युदण्ड पाएका चार सहिदहरू र हथकडी, नेलसहित आजीवन कारावास सजाय पाएका नेपाल आमाका छोराछोरीहरू जसले नेपालमा गणतन्त्र ल्याउने भूमिका खेले। २००७ सालको क्रान्तिका नेतृत्व पंक्ति, विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी साथै लड्ने नेपाली सपुतहरूको पनि भूमिका विशेष छ। या फेरि आजका राजनीतिक नेता गण जो सत्ता र पैसा लोलुपताले ग्रसित छन्। केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवालाई कुन कसीमा राखेर मूल्यांकन गर्ने ? को सफल को असफल ?

(राई राजनीति क्षेत्रमात्र सिमित नभई विभिन्न सामाजिक अभियानमा छन। राई भन्छ्न, ‘म बिगत केहि बर्ष देखि सरसफाइ अभियानमा छु । क्लिन kastamandap चक्रपथ सरसफाइमा समय मिलाएर सहभागी हुने गरेकाे छु।’)

राई नेविसंघ सोलुको जिल्ला सचीव हुन्।

सम्बन्धित समाचारसबै