किष्ट शिक्षण अस्पतालले ५० औं सफल मिर्गौला प्रत्यारोपण गरेको छ। किष्टले अहिलेसम्म ५१ जना बिरामीको मिर्गौला प्रत्यारोपण गरेको हो। ती सबै प्रत्यारोपण सफल भएको अस्पतालले जानकारी दिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रलयको अंग प्रत्यारोपण समन्वय समितिको सचिवालयले गत फागुन १८ गते किष्टलाई मिर्गौला प्रत्यारोपण गर्न स्वीकृति दिएको थियो। गत वैशाख ८ गते किष्ट अस्पतालले पहिलो मिर्गौला प्रत्यारोपण गरेको थियो। गुणस्तरीय प्रत्यारोपणले बिरामीहरू विदेश जानुपर्ने बाध्यता पनि कम भएको अस्पतालले जनाएको छ।
‘प्रत्यारोपण सेवाका लागि देश भित्रबाट मात्र नभई बिदेशमा रहेका नेपाली नागरिकहरू अमेरिका, जापान, डेनमार्क तथा मध्यपूर्वका देशहरूबाट यस अस्पतालको सम्पर्कमा आई मृगौला प्रत्यारोपण गरी आफ्नो काममा फर्किसक्नु भएको छ,’ अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रतिष्ठानले सुलभ, सहज र गुणस्तरीय प्रत्यारोपण सेवा प्रदान गरेका कारण विगतमा यस सेवा लिनका लागि विदेश जानुपर्ने बाध्यतालाई केही हद सम्म रोक्ने प्रयास गरेको छ।’
विगत चार वर्षयता अस्पतालले विपन्न मिर्गौलाका बिरामीलाई निःशुल्क सेवा समेत प्रदान गर्दै आएको जनाएको छ। अस्पतालले ‘पेर एक्सचेन्जु प्रत्यारोपण पनि सम्पन्न गरिसकेको विज्ञप्तिमा उल्लेख छ।
‘नजिकको नातेदारले आफ्नो अंग दान दिन पाउने हुँदा नातेदार परिवारका सदस्यहरू दाता र ग्रहणकर्ताबीच रगत परीक्षण मेल नखाएमा यस्तै परिस्थितिबाट गुज्रिरहेको अर्को परिवारबीच पारस्परिक सहमति भएमा दुबै बिरामीको एकै साथ प्रत्यारोपण कार्य गर्न सकिने कानूनी प्रावधान छ,’ विज्ञप्तिमा भनिएको छ,’ अस्पतालले यस प्रकारको पेर एक्सचेन्ज प्रक्रियालाई समेत प्रोत्साहित गरेको छ। र सफलताका साथ प्रत्यारोपण सम्पन्न गरेको छ।
यस्तो प्रत्यारोपण गर्नेमध्ये किष्ट शिक्षण अस्पताल पहिलो र एक मात्र संस्था भएको दाबी समेत गरिएको छ।
अस्पतालले प्रत्यारोपणको लागि प्याकेज खर्च साढे चार लाखबाट सुरू गरेको छ। अस्पतालले प्रत्यारोपणलाई सहज र सरल बनाउन छुट्टै विभाग पनि बनाएको जनाएको छ।
‘बिरामी पहिलो पटक अस्पताल आएदेखि चिकित्सकीय परामर्श र कानुनी परीक्षणलाई साथसाथै अगाडि बढाइन्छ। जसका आधारमा प्रत्यारोपणको निर्णय लिन ६-७ चरणको छलफल भेटघाट र परीक्षण पछि सत्रै आधारहरू ठीक भएमा बिरामी सम्पर्क आएको दिनबाट छिटोमा १३ दिन भित्रमा प्रत्यारोपण गराउने गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।