मनाङमा एमाले र कांग्रेसबीच झडप, कांग्रेस उम्मेदवार गुरुङ घाइते

0 Shares

मनाङ– मनाङमा नेपाली कांग्रेसका तर्फबाट सत्तागठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार टेकबहादुर गुरुङमाथि आक्रमण भएको छ । चुनाव प्रचार प्रसारका लागि नार्पाभूमि गाउँपालिकामा घरदैलो सकेर बास बसेको होटलमा नै गुरुङमाथि आक्रमण भएको हो।

शुक्रबार नार्पाभूमी गाउँपालिकाको नार गाउँमा घरदैलो कार्यक्रम सकेर नार गेस्ट हाउसमा बास बसेका गुरुङमाथि आक्रमण भएको नेपाली कांग्रेस मनाङका सचिव सुरेन्द्र गुरुङले बताए । गुरुङमाथि शुक्रबार मध्यरातमा होटल कम्पाउण्डभित्रै एमालेका उम्मेदवारको निर्देशनमा आक्रमण भएको गठबन्धन पक्षधरले आरोप लगाएको छ ।

आक्रमणमा नार्पाभूमि गाउँपालिका उपाध्यक्ष मेङमार फुन्चो लामासहित १८–२० जनाको समूहले संलग्न रहेको सचिव गुरुङले दाबी गरे। उनले भने, ‘एमालेका साथीहरू हाम्रो उम्मेदवार बसेको होटलमा पसेर ढुंङ्गा लाठ्ठी लिएर होटल कम्पाउण्डभित्र प्रवेश गरी उम्मेदवार टेकबहादुुर गुरुङमाथि हमला गरेका छन् ।’

सोही गाउँपालिकाका वडा नं– १ का वडा अध्यक्षसमेत रहेका होटल सञ्चालक फुर्पा ठेले लामा सम्झाउन जाँदा उनलाई पनी सख्त घाइते बनाएको बताइएको छ । घाइते लामाको टाउकोमा २२ टाँका लगाइएको छ । उनलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लिने तयारी भइरहेको बताइएको छ ।

आफ्ना साथीहरूसंग कांग्रेसका साथीहरू निहँ खोज्न आएउदा झडप भएको र एमालेका कार्यकर्ता पनि भाइते भएको एमाले जिल्ला अध्यक्ष कपिल गुरुङले बताए । उनले भने, ‘हाम्रो साथीहरूसंग कांग्रेसका साथीहरू निहँ खोज्न आएपछि झडप भएको हो । उनीहरू पनि घाइते भए होलान् । हाम्रा साथीहरू पनि घाइते भएका छन् । निहँ खोज्न आएपछि झडप हुने भइहाल्यो नि । हामी आफैँ झडप गर्न गएका होइनौँ ।’

सम्बन्धित समाचारसबै