सोलुखुम्बु – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पर्यटन विभाग प्रमुख आङ गेलु शेर्पाले दिप्लीघाटको बेलिब्रिज पुल निर्माणका लागि जिल्ला समन्वय समितिको रकम खर्च गर्न आग्रह गरेका छन । गत भदौ ७ गते राती आएको बाढीले बगाएको दिप्ली स्थित मोटरेबल पुलको विहिबार स्थलगत निरिक्षण गर्दै नेता शेर्पाले यस्तो बताएका हुन ।
दिप्लीघाटको उक्त पुल जिल्लाको ३ वटा गाउँपालिका थुलुङ दुधकोशी, सोताङ र महाकुलुङलाई सडक मार्गमा जोड्ने एक मात्र पुल भएकाले यसकोे निर्माणका लागि जिल्ला समन्वय समितिमा मौजात रहेको रकम नेपाल सरकारसँगको समन्वयमा खर्च गर्न माग गरे । जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौलासहित स्थलगत निरिक्षणमा पुगेका नेता शेर्पाले पुल बगाएको २ महिना वितिसक्दा पनि नेपाल सरकारले बजेट अभावको कारण देखाउँदै पुल निर्माण प्रकृया अघि बढाउन नसकेको भन्दै दुःख व्यक्त गरे ।
उक्त पुल बगाएपछि सिधा सडक सञ्जाल अवरुद्ध भएकाले विशेष गरी कोशी पारीका नागरिकहरु समस्यामा परेकाले पुल निर्माणमा आएको बजेटपछि व्यवस्थापन गर्ने गरी नेपाल सरकारकै समन्वयमा जिल्ला समन्वय समितिको रकम खर्च गर्न आग्रह गरे । छलफलमा समन्वय प्रमुख कृष्ण प्रसाद निरौलाले कोशी पारीका नागरिकको सहजताका लागि कांग्रेस नेता शेर्पाले चालेको कदमको प्रसंशा गर्दै यसमा आफुहरु सकरात्मक रहेको बताए ।
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा तरुण दलका केन्द्रीय सदस्य नविन थापाले पुल निर्माणका लागि मिडियाबाजी धेरै भएपनि काम हुन नसकेको आरोप लगाए ।
निरिक्षणमा कांग्रेस केन्द्रीय सदस्य आङ गेलु शेर्पा, जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौला, सदस्य सोमराज केसी, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा तरुण दलका केन्द्रीय सदस्य नविन थापा, नेविसंघका जिल्ला सचिव मोहन कृष्ण निरौला लगायत व्यक्तिहरु सहभागी थिए ।
निरन्तरको बर्षातका कारण आएको बाढीका कारण गत भदौ ७ गते थुलुङ दुधकोशी गाउँपालिका ८ दिप्ली र सोताङ गाउँपालिका १ खोर्दाको सिमानामा रहेको दिप्ली पुल बगाएको हो ।