नुवाकोट-नेपाली काँग्रेस सूर्यगढी गाउँपालिका कार्यसमितिले नुवाकोट क्षेत्र नम्बर १ प्रदेश ख का पार्टी सभापति रामजी पौडेललाई कारबाहीका लागि सिफारिस गरेको छ । विहीबार बसेको समितिको बैठकले टिकट वितरणमा व्यापक आर्थिक चलखेल गरेको भन्दै पौडेललाई कारबाहीको सिफारिस गरेको हो ।
पौडेलले सूर्यगढी गाउँपालिकाभित्र अनधिकृत रूपमा पार्टीका बैठकहरू गरेर पार्टीभित्र विखण्डन ल्याएको समेत आरोप लगाइएको छ । पौडेलमाथि हदैसम्मको कारबाही गर्न जिल्ला, प्रदेश र केन्द्रीय समितिमा लेखी पठाउने गाउँपालिका समितिको निर्णयमा उल्लेख छ ।
गत वैशाख ३० को स्थानीय चुनावमा नुवाकोट काँग्रेसभित्र टिकट वितरणमा आर्थिक चलखेल चर्चा भए पनि सूर्यगढी काँग्रेसले सभापति पौडेलमाथि गम्भीर आरोप लगाएको हो । पौडेलले भने आफूमाथि लगाइएको आरोप निराधार भएको रातोपाटीलाई बताए ।
‘मलाई कारबाहीका लागि सिफारिस गर्ने कुरा हाँस्यास्पद छ । चुनावमा अर्को पार्टीलाई सहयोग गरेपछि सूर्यगढी गाउँपालिका सभापति शंकर बहादुर प्याकुरेललाई सबै वडा सभापति र जनप्रतिनिधिबाट कारबाहीको सिफारिस भयो,’ उनले भने, ‘त्यसैबाट आफू बच्नका लागि मलाई कारबाहीको सिफारिसको नाटक गरिएको हो । यो अरु केही होइन ।’ अध्यक्ष प्याकुरेलले अराजकपन देखाएको भन्दै यसमा कुनै सत्यता नभएको पौडेलको दाबी छ ।