कैलाश रावलको मुख्य भूमिका रहने फिल्म ‘चोखो पानी’ निर्माण घोषणा, विभेद र सामाजिक विकृतिविरुद्ध आवाज उठाउने

0 Shares

काठमाडौं। अभिनेता कैलाश रावलको मुख्य भूमिका रहने नयाँ नेपाली फिल्म ‘चोखो पानी’ निर्माण हुने भएको छ। शनिबार काठमाडौंस्थित युनिभर्सल क्याफेमा आयोजित विशेष कार्यक्रममार्फत निर्माण टिमले फिल्मको औपचारिक घोषणा गरेको हो।

 

सत्यदेवी फिल्म्सको प्रस्तुतिमा बन्न लागेको यस फिल्मले समाजमा अझै विद्यमान विभेद, असमानता र विभिन्न सामाजिक विकृतिविरुद्ध सशक्त आवाज उठाउने निर्माण पक्षले जनाएको छ। मनोरञ्जनसँगै सचेतना फैलाउने उद्देश्य बोकेको फिल्मले सामाजिक परिवर्तनको सन्देश दिने लेखक तथा निर्देशक किशन गौतम सेवाले बताए।

फिल्म घोषणा कार्यक्रममा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए भने चर्चित अभिनेत्री मिथिला शर्मा विशिष्ट अतिथिका रूपमा उपस्थित थिइन्। कार्यक्रममा फिल्मसँग सम्बन्धित सम्पूर्ण टिमका साथै विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

फिल्मको लेखन तथा निर्देशन किशन गौतम सेवाले गर्नेछन्। निर्माणको जिम्मेवारी संजय केसी र मन्दिरा गौतम सेवाले सम्हाल्नेछन् भने सुखदेव रोक्का र नरेश अयेर सहनिर्माताका रूपमा रहेका छन्।

 

‘चोखो पानी’मा अभिनेता कैलाश रावलसँगै कृतिका शर्मा, रेखा कार्की, सृष्टि खड्की लगायत कलाकारहरूको अभिनय रहनेछ।

 

मुख्य अभिनेता कैलाश रावल नेपाली मनोरञ्जन क्षेत्रमा बहुप्रतिभाशाली कलाकारका रूपमा परिचित छन्। उनले सन् २०१९ मा आयोजित मोडलिङ प्रतियोगिताको उपाधि जित्दै अभिनय, गायन, नृत्य, द्वन्द्व निर्देशन तथा प्रस्तोताका रूपमा आफ्नो अलग पहिचान स्थापित गरेका हुन्।

 

रावलले ‘मीरा : स्याडो अफ अ रेनबो’ चलचित्रमार्फत नेपाली रजतपटमा पाइला टेकेका थिए। यसअघि उनले ‘रवायन’, ‘डल्लेले इन्ट्री मार्यो’ र ‘४ जीपीए’ जस्ता नेपाली चलचित्रमा अभिनय गरिसकेका छन्। तीमध्ये ‘डल्लेले इन्ट्री मार्यो’ र ‘४ जीपीए’ प्रदर्शनको तयारीमा रहेका छन्।

 

निर्माण टिमका अनुसार सामाजिक विषयवस्तुमा आधारित फिल्म ‘चोखो पानी’ अब छिट्टै छायांकनमा जानेछ। समाजमा समानता, न्याय र चेतनाको सन्देश प्रवाह गर्ने उद्देश्यले यो फिल्म निर्माण हुन लागेको यस फिल्मका निर्देशक किशन गौतम सेवाको भनाई छ ।

सम्बन्धित समाचारसबै