बाबुराम पन्थीको स्वर र शब्द रहेको गीत ‘आमा बाँचिराखे है’ सार्वजनिक

0 Shares

काठमाडौं । गायक तथा गीतकार बाबुराम पन्थीको नयाँ नेपाली गीत ‘आमा बाँचिराखे’ सार्वजनिक भएको छ। आमाप्रतिको माया, सम्मान र भावनात्मक सम्बन्धलाई आत्मसात् गर्ने शीर्षक बोकेको गीत एसएस सिरिजको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गीतमा बाबुराम पन्थीकै शब्द रहेको छ भने सूर्य न्यौपानेले संगीत भरेका छन्। महेन्द्र भण्डारीको संगीत संयोजन रहेको गीतको ध्वनि मिश्रण तथा सम्पादन खडक बाजुरालीले गरेका छन्। सागर बाजुरालीले रेकर्डिङ गरेको गीतमा हिउँवाला गौतम, आशिष प्रताप जंग, झविन्द्र पौड्याल र सुरेश अर्यालको अभिनय देख्न सकिन्छ।

गायक पन्थी गुल्मी जिल्लाको मदानेमा सामान्य किसान परिवारमा जन्मिएर गाउँकै परिवेशमा हुर्किए। सानैदेखि गीतसंगीतप्रति रुचि राख्ने उनको औपचारिक सांगीतिक यात्रा वि.सं. २०६० सालतिरबाट सुरु भएको हो। ‘पीपल छायाँमा फेरि मन फर्कियो भूपू मायामा’ उनका सुरुवाती गीतमध्ये एक हो।

त्यसपछि उनले ‘बटौलीमा’, ‘नरोऊ बिन्ती छ’, ‘फूलपाती’, ‘मैलो चोली धुन्न नभन’, ‘जोडशङ्ख फुकेर’, ‘आमा बिनाको दसैँ’, ‘गुल्मी हो नाम’, ‘गुल्मेलीको बस्ती’, ‘उकालो चढ्दै पिरती’, ‘मनै छैन र’ र ‘हिजो रातभरि देखेँ’ लगायतका गीतमार्फत आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिँदै आएका छन्।

गीतसंगीतप्रतिको गहिरो लगाव भए पनि पन्थीले पेसागत जीवनलाई पनि उत्तिकै महत्त्व दिएका छन्। उनी विगत १७–१८ वर्षदेखि बुद्ध एयरमा कार्यरत छन् र हाल अपरेसन म्यानेजरको जिम्मेवारी सम्हालिरहेका छन्। व्यस्त पेसागत जीवनका बीच पनि संगीतप्रतिको मोहलाई जीवित राख्दै आएका पन्थीका लागि गीतसंगीत आत्मसन्तुष्टि र आफ्ना भावना व्यक्त गर्ने माध्यम बनेको छ।

गाउँको माटोबाट सुरु भएको उनको सांगीतिक यात्राले काठमाडौंसम्म आइपुग्दा विभिन्न गीतको रूप लिएको गायक पन्थी बताउँछन् । यसै यात्राको निरन्तरताका रूपमा सार्वजनिक भएको ‘आमा बाँचिराखे है’ ले पनि दर्शकबाट माया पाउनेमा उनी विश्वस्त छन् ।

सम्बन्धित समाचारसबै