पाटन दरबार क्षेत्रमा सवारीसाधन प्रवेश प्रतिबन्ध

0 Shares

ललितपुर – ललितपुरको पाटन दरबार क्षेत्रमा आइतबारदेखि सवारीसाधन प्रवेशलगायत १० वटा कार्यमा रोक लगाइएको छ । विदेशी पर्यटकको संख्या बढिरहेका वेला सवारीसाधन प्रवेशलगायतका गतिविधिले अवरोध गरेको भन्दै ललितपुर महानगरले १० वटा कार्यमा रोक लगाएको हो ।

ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेंथुले सवारीसाधन निषेध, धूम्रपान र मद्यपान गर्न नपाइने, टिकटक वा अन्य व्यावसायिक भिडियो र फोटो खिच्न नपाइने, मन्दिरको वरिपरि असहज हुने गरी युवायुवती बस्न नपाइने, थर्मसमा चियालगायत खानेकुरा बेच्न नपाइने, सामाजिक तथा सार्वजनिक कार्य गर्न नपाइने, फिल्म वा म्युजिक भिडियो सुटिङ गर्न कडाइ गरिएको हो । यदि दरबार क्षेत्रमा यी गतिविधि गरेमा जरिवाना तिराइने हाछेंथुको भनाइ छ । ‘यो पर्यटक आउने सिजन हो, पयर्टकीय क्षेत्रमा अनेक गतिविधि हुँदा घुम्न आउनेहरूलाई अवरोध भएकाले हामीले त्यसलाई नियन्त्रण गर्न खोजेका हौँ,’ उनले भने ।

पाटन दरबार क्षेत्रस्थित भीमसेन मन्दिरको अगाडि रहेको पार्किङ पनि हटाइएको छ । अब दरबार क्षेत्रमा कुनै पनि सवारीसाधन प्रवेश गराउन पाइनेछैन । कृष्ण मन्दिरको अगाडि रहेको दरबारको आँगनमा विभिन्न संघ–संस्थाले कार्यक्रम पनि गर्न पाउनेछैनन् । यसबाहेक ललितपुर महानगरपालिकाले पुल्चोक, जावलाखेललगायत स्थानमा धूम्रपान निषेध गरिसकेको छ ।

सम्बन्धित समाचारसबै