सुदूरपश्चिम प्रदेश सरकार गठनमा अन्योल

0 Shares

काठमाडौं– माग र मुद्दा सम्बोधन नगरिएसम्म सरकार गठनमा कसैलाई सहयोग नगर्ने र सहभागीसमेत नहुने नागरिक उन्मुक्ति पार्टीको अडानपछि तत्काल सुदूरपश्चिम प्रदेशसरकार गठनमा अन्योल देखिएको छ । त्रिपन्न सदस्यीय प्रदेशसभामा सात सदस्य रहेको नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता रामेश्वर चौधरीले टीकापुर घटनाका बन्दी रिहाइ नभएसम्म आफूहरुले कसैलाई सरकार बनाउन सहयोग नगर्ने र सरकारमा समेत सहभागी नहुने बताए ।

प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत छैन । प्रदेशसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १९ सदस्य रहेका छन् । नेकपा (माओवादी केन्द्र) को ११, नेकपा (एमाले) को दश, नेकपा (एकीकृत समाजवादी)को चार, राप्रपा र स्वतन्त्र एक÷ एक जना रहेका छन् । सरकार गठनका लागि २७ सदस्यको बहुमत आवश्यक पर्दछ । सजिलैसँग सबै दललाई बहुमत जुटाउन कठिन छ । नागरिक उन्मुक्तिले केन्द्र सरकार गठनमा भने समर्थन गरेको छ ।

कांग्रेस र नागरिक उन्मुक्तिबाहेक प्रदेशसभामा माओवादी, एमाले, राप्रपा मिल्दा २२ सदस्य मात्र पुग्छन् । चार सदस्य रहेको (एकीकृत समाजवादी)ले सरकारमा जाने वा नजाने निर्णय अझै गरिसकेको छैन । समाजवादीले पनि सरकारमा जाने निर्णय गरेमा २६ सदस्य पुग्छन् । सरकार गठनमा अन्योल देखिँदा नागरिक उन्मुक्ति पार्टीका साथै डडेलधुराबाट स्वतन्त्र उम्मेदवारी दिएर विजयी हुनुभएको डा तारा जोशीलाई आआफ्नो पक्षमा पार्ने रणनीतिमा दलहरु देखिन्छन् ।

नेकपा (एमाले)का प्रदेशसभा सदस्य धर्मराज पाठक केन्द्रमा दलका शीर्ष नेतृत्वबीच कुन प्रदेशमा कसको नेतृत्वमा सरकार बनाउने भन्ने विषयमा छलफल चलिरहेकोले त्यसको टुङ्गो लागेपछि प्रदेश सरकार गठनमा देखिएको अन्योल  हट्ने बताउछन् । “प्रदेशसभाको अहिले देखिएको अङ्क गणितले सरकार गठनमा केही अन्योल त छ नै”, उनले भने, “केन्द्र सरकार गठनमा नागरिक उन्मुक्तिले बाहिरबाट समर्थन गरेकै छ, प्रदेश तहमा पनि गर्नसक्ने सम्भावना छ ।”

प्रदेशसभामा छ दलको प्रतिनिधित्व 

प्रदेशसभा संसदीय दलको नेतामा एमालेका राजेन्द्रसिंह रावल, माओवादीका खगराज भट्ट, एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी र नागरिक उन्मुक्ति पार्टीका रामश्वर चौधरी चयन भइसकेका छन् ।  कांग्रेसको संसदीय दलको नेता अझै चयन हुन सकेको छैन ।

कांग्रेसका प्रदेशसभा सदस्य बमले भने, “संसदीय दलको नेता चयन गर्नमा पार्टीको प्रदेश समिति चासो लिनुपर्ने हो, आजसम्म लिएको देखिँदैन ।” कांग्रेस संसदीय दलको नेताको आकाङ्क्षीमा प्रकाशबम, बहादुरसिंह थापा, देवानसिंह विष्ट, प्रकाशबहादुर देउवा, कमलबहादुर साह र मेघराज खड्का देखिएको चर्चा छ । प्रदेशसभाका सबै ३२ निर्वाचन क्षेत्रमा पुरुष उम्मेदवार विजयी भएका छन्। समानुपातिक निर्वाचन प्रणालीतर्फका २१ सिटमध्ये तीन पुरुष र १८ महिला निर्वाचित भएका हुन् ।

निर्वाचित हुने प्रदेशसभामा खस आर्य समुदायका, ४३, दलित समुदायबाट तीन, थारुका पाँच, आदिवासी÷जनजाति समुदायबाट दुई जनाको प्रतिनिधित्व भएको छ । प्रदेशसभाको पहिलो कार्यकालमा दुई जनाको प्रतिनिधित्व रहेको कैलाली, कञ्चनपुरका आदिवासी रानाथारु समुदायको प्रतिनिधित्व दोस्रो कार्यकालमा शून्य भएको छ ।

प्रदेशसभाका सदस्यको पद तथा गोपनीयतको शपथग्रहण भइसकेको छ । प्रदेश प्रमुख देवराज जोशीले संविधानको धारा १८३ बमोजिम प्रदेशसभाको पहिलो अधिवेशन  आह्वान गरेका छन् ।

यसैबीच आइतबार बसेको सर्वदलीय बैठकले आउँदो माघ २ गतेभित्रमा प्रदेशसभाका सभामुखको निर्वाचन गरिसक्ने सहमति गरेको छ । प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले सभामुखको निर्वाचन माघ २ गतेभित्र गरिसक्ने गरी प्रक्रिया अघि बढाउने सहमति भएको जानकारी दिए ।

सम्बन्धित समाचारसबै