गोपाल किराती– स्पार्टाकसको महान विद्रोहको परिणामस्वरुप रोमस्थित समाजमा विस्तारै दास मुक्ति अभियान सुरु भयो। रोम साम्राज्यको कुनै गाउँबाट एक जना मालिकले आफुलाई दास मुक्तिदाता तुल्याउने विचार गरे। उसले आफुसंग रहेका दस जना दासहरुलाई मुक्त घोषणा गर्यो। तर, यी दासहरु अब के गरि खान्छन, भन्ने जिज्ञाशाले मालिकलाई सताउन खोज्यो। उसले अन्तिम पटक पूर्व दासहरुलाई लहरै उभिन भन्यो। मुक्त दासहरु उभिए।
“अब तिमी के गरि खान्छौ?”- मालिकले क्रमश: सोध्दै लग्यो। नौ जना मुक्त दासहरुले विभिन्न योजनाहरु बताए। दशौंको जवाफ थियो- “मालिक! अब म आफ्नो लागि दस जना दासहरु जम्मा गर्नेछु।”
सर्वोच्च अदालतले माओवादी बनाईदिएका सिद्वान्तहीन-नैतिकहीनहरुको सरकारले प्रज्ञा प्रतिष्ठान गठन गरेछ। दलाल पुँजीवादी सरकारको चरम संसदवादी मन्त्रीले अन्धजातिवादी खरानी निकै घसेछन। यसवीच साथीभाई धेरैले बोल्नु पर्यो, भनेर हामीलाई आग्रह गरे। तदनुरुप एक मार्क्सवादी कार्यकर्ताको हैसियतबाट यहाँ संक्षिप्तमा लेखिएको छ।
१. पहिलो कुरा, पात्रहरुकावारे केही भन्नू छैन। तर, जातिगत आंकडा हेर्दा यस आलेखको शिर्षक नै प्रज्ञा प्रतिष्ठानमा नियुक्तिको सारतत्व हो, भन्नेमा सामाजिक न्याय पक्षधरहरुवीच मतभेद हुन सक्दैन। बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक मुलुकमा साझेदारीको सट्टा १२ प्रतिशत बाहुनले सर्वत्र कब्जा जमाएको छ, जुन नेपाली समाजको दु:खको कारण हो, भन्दै निवारणमा गणतन्त्र स्थापना गर्ने समाजले अर्को अन्धजातिवाद सहन गर्दैन र गर्नु पनि हुँदैन। तब प्रश्न उठ्छ, गणतन्त्र नेपालमा राईहरुको जनसंख्या अनुपातमा त्यस प्रतिष्ठानमा त्यस समुदायका मानिसहरुको सरकारी नियुक्ति संख्या न्यायोचित छ? किमार्थ छैन। अत. “बल्लतल्ल पायो, बोक्रैसित खायो” चरित्र चित्रण गर्ने दलाल पुँजीवादी सरकारका चरम निम्न-पुँजीवादी मन्त्रीले अन्धजातिवादको कालो खरानी चर्कै घसेका छन। जसले, गणतन्त्रको तीन प्रज्ञा प्रतिष्ठानमाथि बलात्कार गर्ने अपराधीको रुपमा “राई” पहिचानलाई कलङ्कित पारेको छ।
किराती समुदाय नेपालमा संगठित राज्यका संस्थापक हाङ यलम्बर सम्बद्व विरासतका हुन। जसले, जातिगत एवं व्यक्तिगत न्याय सम्पादनमा कहिंकतै गल्ती नगर्ने, अज्ञानतावश गल्ती भइहालेमा क्षेतिपूर्तिसहित माफी माग्ने संस्कृति निर्माण गर्दै आयो। तर, यस समुदायका कतिपय व्यक्ति भने अपराधकर्मी पनि छन। तिनले विशुद्व आउने चुनावको जोहो खातिर प्रज्ञा प्रतिष्ठानलगायतमा जुन कुकृत्य गरेका छन, ती व्यक्ति स्वयं जिम्मेवार छन, समुदाय किमार्थ होइन। कहावत अनुसार पनि जुन औंलामा बिष लाग्यो, त्यही औंला झर्नु पर्छ, अरु होइन।
२. यलम्बरप्रति गौरव गर्ने जो कोहीले त्यस्तो मानिसलाई समर्थन गर्न सक्दैन, जसले अन्धजातिवादी खरानी घस्दै आउने संसदीय निर्वाचन क्षेत्रको निहित स्वार्थमा किराती समुदायलाई कलङ्कित पार्छ, बाहुन र राई एउटै हुन भन्ने भाष्य निर्माणमा प्यादा बनेर सघाउँछ अनि किराती समुदायलाई विशाल उत्पीडित जनसमुदायबाट अलगथलग बनाउने अपराध गर्छ। अन्यथा “एउटा बिराउने, शाखा सन्तान पिराउने” भने झैं किताती समुदायका प्रगतिशीलहरु श्रमिकवर्ग, दलित तथा खस आदिवासी एवं मधेसी समुदाय र जनजाति आदिवासीको न्यायपूर्ण आन्दोलनबाट एक्लिने जोखिम स्वत: प्रतीत छ।
अत: रोमको मुक्त दासले “फेरि आफ्नो लागि दास खोज्ने” चिन्तन प्रवृत्तिका दलाल मन्त्रीको संसदीय प्रतिगामी चिन्तनबाट सामुदायिक संदर्भमा किरातीहरु मुक्त रहनै पर्छ। अन्यथा कि माऊ खाने प्रवृत्तिका गद्दारहरुले दुई चार थान सरकारी नियुक्तिमा समुदायको जागरणलाई भ्रष्टीकरण गर्ने दुष्टशाहस गर्दैछन। तिनले आफै त सामर्थ्य राख्दैनन्, तर तिनका कुकृत्यको उदाहरण देखाउँदै गोर्खाली अन्धराष्ट्रवादले किराती समुदायलाई मार हान्न सक्छन। जसरी जननायक रामप्रसाद राईको चिहान खन्ने अपराधमा बाहुनवादीहरुले ध्यानवहादुर राईलाई खुब प्रयोग गरेका थिए। परन्तु, आजको समाज सामन्ती राजतन्त्रको निर्दलीय पञ्चायत भने होइन।