काठमाडौं – सरकारी पत्रिका गोरखापत्रको फेसबुक पेज गायब भएको छ । बुधबार बेलुकादेखि साढे आठ लाख लाइक भएको ‘गोरखापत्र अनलाइन’ नामक फेसबुक पेज उडेको हो ।
त्यसो त केही महिना अघि पनि गोरखापत्रको फेसबुक पेज हराएको थियो । लामो प्रयासपछि ‘रिकभर’ भएको फेसबुक पेज पुनः गायब भएको हो । वार्षिक करोडौँको आम्दानी गर्ने र सरकारी बजेट समेत प्राप्त गर्ने उक्त सरकारी सञ्चार माध्यमका सामाजिक सञ्जाल अकाउन्ट भने भेरिफाइ हुन सकेका छैनन् ।
साइबर सुरक्षा प्रति सजग नहुँदा गोरखापत्रको फेसबुक पेज उडेको हो । पेज एड्मिन एक्सेस भएका फेसबुक अकाउन्ट अथवा डिभाइसहरू ह्याकरको पहुँचमा पुगेको अवस्थामा यस किसिमको समस्या आउने गरेको छ ।
खासगरी धेरै लाइक तथा फलोअर भएका फेसबुक पेजहरूलाई ह्याकरले निशाना बनाउँदै आएका छन् । गोरखापत्रका कार्यकारी अध्यक्ष विष्णु सुवेदीले अहिलेसम्म कारण पत्ता नलागेको बताए ।