काठमाडौँ – जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले संवैधानिक परिषद् कुनै पार्टीले नियुक्ति गराउने थलो बन्न नहुने बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा संवैधानिक परिषद् काम कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी पहिलो संशोधन विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद यादवले सो विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गरेर छलफल गरी छिट्टै पास गर्नुपर्ने बताएका छन् ।
उनले सो विधेयक ल्याउन अति आवश्यक रहेको बेलामा विधेयक ल्याएकोमा सरकारलाई धन्यवाद व्यक्त गर्दै सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्ति हुन नसकिएको बेला सो विधेयक अघि बढ्नु महत्त्वपूर्ण रहेको बताए । सो विधेयकमाथि छलफल गर्नुपर्ने बताउँदै केही संशोधन पनि दर्ता गर्न आवश्यक रहेको उल्लेख गरे ।
उनले भने– ‘विगतमा संवैधानिक आयोगहरूमा नियुक्ति गर्दा सरकारहरूले संसद् छल्ने, संसद्लाई ठग्ने काम गर्ने जस्ता काम नगर्न यो सरकारलाई सभामुखमार्फत ध्यानाकर्षण गराउँछु । विगतमा संसद् चलिरहेको बेला धेरै संवैधानिक निकायमा पदहरू खाली भएको अवस्था थियो । त्यो बेला तत्कालीन प्रधानमन्त्री केपी ओलीको सरकार थियो । त्यो बेला अध्यादेशमार्फत संवैधानिक नियुक्तिहरू गरियो । संवैधानिक नियुक्ति गर्दा संवैधानिक परिषद्ले सिफारिस मात्र गर्ने हो ।’
सांसद यादवले अगाडि भने– ‘संसद्ले उसलाई ४५ दिनसम्म निगरानी गरेको हुन्छ । त्यो व्यक्ति कस्तो हो ? त्यस विरुद्ध मुद्दा चलेको छ कि छैन ? आचरण खराब छ कि त्यो हेर्ने काम संसद्को हो । तर विगतमा के भयो भने एकातिर जम्मो टोलीको नियुक्ति हुन्छ, अर्कोतिर संसद्लाई जानकारी पनि गराइन्छ कि फलानो फलानोलाई नियुक्त गरिएको छ । संसद्मा पत्र पनि जान्छ तर २ घण्टापछि संसद् अधिवेशन अन्त्य गरिएको छ भनेर मिडियाबाट जानकारी गराइन्छ । त्यस्तो काम यो सरकारले नगरोस् भनेर म ध्यानाकर्षण गराउन चाहन्छु ।’