काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले मिटरब्याज पीडितहरुसँग भेट गर्ने भएका छन् । शुक्रवार गृह मन्त्रालयमा मिटरब्याजी पीडित र सरकारी टोलीको दोस्रो चरणको छलफलपछि प्रधानमन्त्रीले आज बेलुकासम्म पीडितहरुसँग भेट गर्ने प्रतिबद्धता सरकारबाट आएसँगै शनिवार पुनः छलफल गर्नेगरी आजको छलफल टुंगिएको हो ।
छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मिटरब्याज पीडित संघर्ष समितिका संयोजक मनोजकुमार पासवानले प्रधानमन्त्रीले आज साँझसम्म पीडित बसेकै स्थानमा पुगेर भेट गर्ने जानकारी आएको बताए । उनले सरकारसँगको छलफल पनि सकारात्मक रुपमा रहेको बताए । उनले आफूले देशकै गम्भीर समस्या उठाएकाले यसमा सबैको साथ रहनुपर्ने बताए ।
मिटरब्याज विरुद्धको संघर्ष समिति, नेपालले तमसुक व्यवस्था खारेज गर्न, पमटरब्याज पीडितहरुको पक्षमा कानुन निर्माण गर्न, चेक वा तमसुकबाट लेनदेनको मुद्दा दर्ता भएपछि सम्पत्तिको श्रोत खोजी गरी कानुन निर्माण गर्न, साहुकारहरुको अवैध ठहरिएको सम्पत्ति जसको नामबाट आएको हो उसैको नाममा फिर्ता हुने व्यवस्था वा जसले आफ्नो सम्पत्ति ठगी गरेको दाबी गर्छ उसकै नाममा फिर्ता हुने कानुनी व्यवस्था गर्न माग गरेको छ ।