काठमाडौं – सन् २०२३ को मार्चमा ९९ हजार ४२६ जना पर्यटक नेपाल आएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मार्चमा सन् २०२० मा सुरु भएको कोरोना महामारीयताकै सर्वाधिक पर्यटक नेपाल भित्रिएका हुन्। सन् २०२२ को यही महिनामा ४२ हजार छ जना पर्यटक आएका थिए भने सन् २०२१ को मार्चमा १५ हजार २५४ जना पर्यटक नेपाल भित्रिएका थिए। त्यस्तै सन् २०२० को मार्चमा ४२ हजार ७७६ र सन् २०१९ को सोही अवधिमा एक लाख २७ हजार ३५१ जना विदेशी पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका थिए।
कोरोना महामारीले थला परेको पर्यटन क्षेत्रलाई सन् २०१९ कै अवस्थामा पु-याउन भारतपछि धेरै पर्यटक भित्रिने मुलुक चीनमा पर्यटन प्रवद्र्धनको काम सुरु गर्न लागेको पर्यटन बोर्डका कार्यकारी निर्देशक धनञ्जय रेग्मीले बताए । उनले भने , “महामारीले असर परेका अन्य क्षेत्रमा चहलपहल बढिसकेको भए पनि पर्यटन र यससँग सम्बन्धित क्षेत्रलाई थप चलायमान बनाउन पर्यटक आगमन सङ्ख्या नै बढाउनु हो। दोस्रो धेरै पर्यटक भित्रिने मुलुक चीनमा केन्द्रित रहेर त्यहाँबाट पर्यटक भित्र्याउन ‘चाइनिज सेल्फ मिसन कार्यक्रम सुरु गर्न यही महिना त्यसतर्फ जाँदैछौँ। चीनबाट सर्वाधिक पर्यटक भित्र्याउन हवाई कनेक्टिभिटीको सङ्ख्यासमेत बढाउनुपर्ने देखिएको छ।”
पर्यटन बोर्डका अनुसार मार्चमा नेपाल भित्रिएका पर्यटकको सङ्ख्यामा सन् २०१९ को तुलनामा अहिले ७८ प्रतिशत सुधार देखिएको छ। नेपाल घुम्न आउनेमध्ये सबैभन्दा धेरै ३३.६ प्रतिशत सार्क मुलुकका पर्यटक छन्। युरोपेली मुलुकबाट २३।४ प्रतिशत र अमेरिकी मुलुकबाट ११.३ प्रतिशत पर्यटक भित्रिएका छन्।
सन् २०२३ को जनवरीमा ५५ हजार ७४ जना पर्यटक नेपाल घुम्न आएका थिए। त्यस्तैगरी फेबु्रअरीमा ७३ हजार २५५ पर्यटक नेपाल आएका थिए। कोरोनाकालपछिका अधिकांश मौसम पर्यटकको बाटो कुर्दै बसेका व्यवसायीहरू पछिल्लो समय बाह्य पर्यटकको बढ्दो आगमनले व्यस्त हुन थालेका छन्। होटल, रिसोर्ट, होमस्टेमा आन्तरिक र बाह्य पर्यटकको बुकिङ धमाधम भइरहेको छ। आन्तरिक हवाई सेवा भरिभराउ छन्। यो समाचार गोरखापत्र दैनिकमा छ ।