बैतडी जिप दुर्घटना :आफन्तले शव बुझ्न मानेनन्, क्षतिपूर्तिको माग

0 Shares

बैतडी – बैतडीमा जिप दुर्घटनामा ज्यान गुमाएका आफन्त क्षतिपूर्तिको माग गर्दै आन्दोलित भएका छन्। खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्गअन्तर्गत पर्ने बैतडीको पाटन नगरपालिका-८ को झौलेक मोडमा मंगलबार राति ११ बजे से १ ज ७६४ नम्बरको जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो।

उचित क्षतिपूर्ति पाउनुपर्ने माग राख्दै बझांगबाट आएका उनीहरु घटनास्थलमै आन्दोलित भएका हुन्। आवश्यक क्षतिपूर्ति नपाए शव नबुझ्ने आफन्तहरुले अडान राखेका छन्। उनीहरु बुधबार बिहानैदेखि जयपृथ्वी राजमार्गमा शव राखेर आन्दोलन गरिरहेका छन्।

मृतकका परिवारले गाडी साहु  नआएसम्म घटनास्थलबाट शव नउठाउने अडान लिएका बैतडीका प्रहरी प्रवक्ता रहेका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। जिप साहु घटनास्थल आउनुपर्ने  र क्षतिपूर्ति दिनुपर्ने उनीहरुको अडान रहेको छ। गाडी साहु बझाङको केदारस्युँकै रहेका र उनलाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको प्रहरीले  बताएको छ।

दुर्घटनामा बझाङको केदारस्युँ गाउँपालिका-५ को बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय वीरे धामी रहेका छन्।

जिपमा सवार अन्य ५ जनाले हाम्फालेर ज्यान बचाएका थिए। दुर्घटनालगत्तै जिपचालक बझांगकै २७ वर्षीय अर्जुन बोहरा फरार रहेका छन्। उनीको खोजी भइरहेको प्रहरीले जनाएको छ।

 

सम्बन्धित समाचारसबै