काठमाडौं – तेस्रो राष्ट्रिय दलित सम्मेलनले जेठ २१ र २२ गते देशभरका स्थानीय जनप्रतिनिधिहरुको काठमाडौंमा प्रथम राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । वैशाख ७–९ गते काठमाडौंमा ‘आत्मसम्मानको खोजी : दलित अधिकार सुनिश्चितताका लागि जनप्रतिनिधिको भूमिका’ विषयक राष्ट्रिय सम्मेलनले प्रथम राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो ।
सम्मेलनबाट दलित सरोकारका दुई महत्वपूर्ण मुद्दाहरु संविधान तथा कानूनले सुनिश्चित गरेका दलित हक अधिकार, कार्यान्वयनमा भएका चुनौती, समानुपालिक समावेशी सिद्धान्त र निर्वाचन प्रणालीमा भएका चुनौती तथा दलित समुदायको आर्थिक मूलप्रवाहीकरण सम्बन्धमा अवलम्बन गर्नुपर्ने प्रकृया, नीतिनिर्माण तथा कार्यान्वयनमा दलित जनप्रतिनिधि र दलित आन्दोलनको भूमिका सम्बन्धमा साझा बुझाई स्थापित भएको आयोजकले जनाएको छ ।
सम्मेलनमा सहभागी संघीय सांसद, प्रदेश सभा सदस्य, स्थानीय जनप्रतिनिधिहरुबीच दलित अधिकार सुनिश्चितताका लागि सामूहिक रुपमा प्रयत्न गर्ने प्रतिवद्धता भएको छ ।
सहभागीहरुको प्रतिबद्धतालाई कार्यान्वयन गर्नको लागि सम्मेलनबाट २१ बुँदे काठमाडौं घोषणापत्र सार्वजनिक गर्नुको साथै जेठ २१ र २२ गते देशभरका स्थानीय तहका जनप्रतिनिधिहरुको प्रथम राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको आयोजक संस्था समता फाउन्डेसनका अध्यक्ष डा.मदन प्रसाद परियारले जानकारी दिए ।