काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टिमका सन्दीप लामिछानेविरुद्ध परेको मुद्दाको आइतबारको सुनुवाइ स्थगित भएको छ । काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार गोला प्रणालीबाट पेशी व्यवस्थापन हुने गरेको र फाँट नम्बर २८ को उक्त मुद्दा बिदामा बसेका न्यायाधीशको इजलासमा परेको कारण स्थगित भएको हो । फाँट नम्बर २८ मा रहेका निवेदन लगायतका अन्य सबै मुद्दाहरू स्थगितको सूचीमा परेको छ ।
यसअघि वैशाख ११ गतेको पेसीमा चढेको उक्त मुद्दामा पीडित किशोरीको स्वास्थ्य परीक्षण गराउने डाक्टरलाई नै झिकाएर बकपत्र गराउने आदेश भएको थियो । मुद्दाको सम्पूर्ण प्रक्रिया पूरा भई अङ्ग पुगेको उक्त मुद्दामा वैशाख २४ गते आइतबारका दिन अन्तिम सुनुवाइ हुने अपेक्षा गरिएको थियो । तर गोला तान्दा बिदामा बसेका न्यायाधीशको बेन्चमा उक्त मुद्दा परेपछि आइतबार अदालतकै तर्फबाट स्थगित भएको हो ।