काठमाडौँ – नेपाली कांग्रेसकी सांसद आरजु राणाले नक्कली शरणार्थी प्रकरणमा आफ्नो नाम जोडिएपछि त्यसको खण्डन गरेकी छिन् । आइतबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद राणाले तथ्यमा आधारित भएर आफ्नो आलोचना गर्न आग्रह गरेकी हुन् ।
सांसद राणाले भनिन्,‘एउटी नारीले राजनीति गरेको सैह्य नहुने रहेछ यहाँ । पुरुषले भनेको ठाउँमा मात्र नारी बस्नुपर्ने, उनीहरुले भनेको मात्र भाष्य हामीले बोल्नुपर्ने, उनीहरुले भनेको मात्र हामी एक्सरसाइज गर्नुपर्ने । त्योभन्दा अलि आफ्नो पब्लिक लाइफमा आयो भने पुरुषहरुलाई त्यो असह्य हुने यो परिस्थिति यहाँ बनेको छ । नेपालमा मात्र हैन अन्तर्राष्ट्रिय रुपमा यो रहेको छ । त्यसको विरोधमा हो हामीले यो संविधान लेखेको ।’
उनले आफ्नो सम्पत्ति विवरण राज्यसँग सुरक्षित रहेको दाबी समेत गरिन । उनले भनिन्,‘हामीले सम्पत्ति विवरण बुझाउने गरेका छौँ । मेरो श्रीमान् पाँच पटक प्रधानमन्त्री भइसक्नुभएको छ । मेरो लगायत हाम्रो सम्पत्ति विवरण नेपाल सरकारसँग सुरक्षित छ । हामी सबै सांसदको सम्पत्ति विवरण मागेर वेबसाइटमा राखियोस् । जनताले थाहा पाउने गरी कसले कति सम्पत्ति कमाएको छ त्यो सबै राखियोस् ।’
उनले भारतमा हरेक महिना न्यायिक क्षेत्रका कर्मचारीले हरेक महिना आफ्नो सम्पत्ति आफैले सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेको बताउँदै भनिन्,‘भारतमा कहाँ कहाँ खायो, श्रीमतीलाई के के किन्यो, छोराछोरी कहाँ पढायो सबै सार्वजनिक गर्छन् । हामी त्यो कानुन ल्याउन सक्छौँ, त्यो ल्याउ । के हो यहाँ, कुरा ठूला ठूला गर्ने, अरुलाई होच्याउन पायो भने ठूला ठूला कुरा गर्ने तथ्यमा आधारित भएर बोलौँ ।’