काठमाडौँ– नेकपा (एमाले)का नेता भीम रावलले मनोरञ्जन जनताको अधिकार रहेको बताएका छन् । मंगलबार काठमाडौँमा चलचित्र ‘काँडेतार’ निर्माण समूहद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले नरम शक्तिका रुपमा चलचित्र, साहित्य र कलालगायत रहेको बताए ।
‘चलचित्र सफ्ट पावरको महत्वपूर्ण अङ्ग हो । अन्य देशमा चलचित्रको माध्यमबाट धारणा निर्माण हुने गरेको छ । हामी कहाँ चलचित्र प्रदर्शनमै सास्ती भोगेको सुनिन्छ । यस्तो हुनु सफ्ट पावरलाई समाप्त पार्नु हो’, नेता रावलले भने, ‘साहित्य, चलचित्रले देशको जिम्मेवार व्यक्तिलाई सजग गराउने हो । यस्ता चलचित्रलाई राज्यले सघाउनु पर्छ ।’
चलचित्रका निर्माता तथा निर्देशक नवल खड्काले सार्वभौमसत्ता, सीमा मिचिएकोदेखि सीमा व्यवस्थित गर्ने सन्दर्भ चलचित्रमार्फत उठान गरेको बताए । ‘हामीलाई सहयोग गर्ने विषयमा नै सास्ती भोगिरहेका छौँ । पछि हट्दैनौँ बरु अदालत जान्छौँ’, उनले भने।