काठमाडौँ– गृहमन्त्री एवंम रुपन्देही- ३ का प्रतिनिधिसभाका उम्मेदवार बालकृष्ण खाणविरुद्ध परेको उजुरी निर्वाचन आयोगले तामेलीमा राख्ने निर्णय गरेको छ। खाणविरुद्ध बहुविवाह गरेको भन्दै कात्तिक २३ मा आयोगमा उजुरी परेको थियो।
२०४८ सालअघि नै दोस्रो विवाह गरेका खाण उम्मेदवार हुन अयोग्य रहेको भनी उजुरी परेको हो। उजुरी तथ्यपरक नभएको र क्षेत्र अधिकार बाहिर रहेको भन्दै आयोगले तामेलीमा राख्ने निर्णय गरेको आयोगले जनाएको छ।
यसैगरी, आयोगले नेपाली कांग्रेसका महामन्त्री एवम् झापा १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विश्वप्रकाश शर्माविरुद्ध परेको उजुरी पनि तामेलीमा राखेको छ। निर्वाचनको बेला अग्नि पीडितलाई आर्थिक सहयोग गरेको र यो निर्वाचन आचारसंहिता विपरीत भएको भन्ने आरोप शर्मामाथि लागेको थियो। तर, उक्त आरोप पुष्टि हुन नसकेको भन्दै आयोगले तामेलीमा राख्ने निर्णय गरेको हो।