काठमाडौं – उच्च स्तरीय निर्वाचन सुरक्षा समितिले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ‘बहिष्कार’ गर्ने समूहमाथि कडा निगरानी गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । निर्वाचन आयोगमा बसेको उच्चस्तरीय निर्वाचित सुरक्षा समितिको बैठकमा प्रमुख निर्वाचित आयुक्त दिनेशकुमार थपलियासहित सबै सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए । सो समितिका संयोजक निर्वाचन आयुक्त ईश्वरी प्रसाद पौड्याल हुन्
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत), मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी (माओवादी), ऋषि कट्टेल नेतृत्वको नेकपा र कर्णजित बुढा नेतृत्वको नेकपा माओवादी (समाजवादी)ले चुनाव बहिष्कार गर्ने निर्णय गरेका छन् । नेपा प्रहरीका प्रवक्ता (डिआईजी) टेक प्रसाद राईका अनुसार प्रहरीले चुनाव बहिष्कार गर्नसक्ने ३१ समूहमाथि निगरानी गरिरहेको छ । बुधवार विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले भोजपुरको तिवारीभञ्ज्याङमा बम विस्फोट गराएका छन् । सत्ता गठबन्धनको सभास्थल नजिकै विप्लव समूहका कार्यकर्ता सुमन श्रेष्ठले बोकेर गएको बम आफैँ विस्फोट भएको थियो । विस्फोट हुँदा सुमनको खुट्टामा चोट लागेको छ।
भोजपुरको अरुण गाउँपालिका–३ स्थित तिवारी भञ्ज्याङमा गठबन्धनको कार्यक्रम शुरु हुँदै गर्दा उनी बम बोकेर सभास्थलमा गएका हुन् । बुधवार दोलखाको चरिकोटमा पनि विस्फोट भएको छ । यसैबिच, बुधवार आईजीपी धिरज प्रताप सिंहले देशभरका सुरक्षा अधिकारीहरूलाई भिडियो कन्फरेन्स मार्फत ब्रिफिङ गरेका छन् ।