जनयुद्धको जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति हुन्ः प्रधानमन्त्री

0 Shares

काठमाडौँ– प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको बताएका छन् ।

माओवादीको सशस्त्र युद्धको २९औँ वार्षिकोत्सवका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रचण्डले जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तनप्रेमी नेपालीको साझा दिवसका रुपमा रहेको बताएका छन् ।

जनयुद्धले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, देशप्रेम एवं राष्ट्रियताप्रति समर्पित परिवर्तनको सपनालाई आत्मसात् गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले जनयुद्धको जगमा जनआन्दोलनको संयोजनबाट देशमा सामन्ती राजतन्त्रको अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको सन्देशमा उल्लेख गरेका छन् ।

‘जनयुद्धको जगमा समावेशी लोकतन्त्र संस्थागत भएको छ, मधेसी, मुस्लिम, महिला, दलित, आदिवासी, जनजाति, थारू समुदायलगायत उत्पीडित वर्ग, जाति, लिङ्ग, क्षेत्र र समुदायमा उच्च राजनीतिक जागरणसहित उनीहरूको पहिचान र अधिकार स्थापित भएको छ’, सन्देशमा भनिएको छ, ‘सामाजिक न्यायको उन्नत व्यवस्थासहित समाजवादोन्मुख संविधानको निर्माण र कार्यान्वयन सम्भव भएको छ, यसर्थ, युग परिवर्तनको प्रतिनिधित्व गर्ने जनयुद्ध आफैँमा ऐतिहासिक र गौरवशाली थियो भन्ने तथ्य प्रमाणित हुन्छ ।’

सम्बन्धित समाचारसबै