ईन्दिरा निराैला
आकाशमा सूर्य उदाए पनि,
धरतीमा अन्धकार पसारिएको थियो।
बालबालिकाका निष्पाप अनुहार
आगोको ज्वालामुखीमा बिलाउँदै थिए।
आँगनमै खेलिरहेका ती साना हातहरू
अचानक रगतमा चिरचिरिए।
आमाबाबुका कहालीलाग्दा चित्कार
सुनसान सडकमा प्रतिध्वनित भए—
“मेरो छोरोलाई किन मार्यौ?”
“मेरो छोरीलाई किन चुँड्यौ?”
अनि सुरु भयो महाभारतजस्तै महा-संग्राम।
देशका संरचना रूँदै, चिच्याउँदै
एकपछि अर्को गरी जल्न थाले—
सिंहदरबार, अदालत, संसद भवन, राष्ट्रपति निवास…
हजारौं मानिसका घरहरू, कैयौं उद्योगधन्दा—
जुन हाम्रो गर्व थिए, हाम्रो सपना थिए—
धुवाँले निस्सासिए,
इँटाहरूले चिच्याइरहे,
आगोले बलिरहे,
र ती संरचना यसरी ढले
जसरी भीष्म ढलेका थिए—
माटोले नै लाजले आँखा झुकायो।
सयौं घाइतेहरू,
रक्ताम्य शरीर बोकेर
आफ्नो पीडा लुकाउन नसकी
त्यही धरतीमाथि ढले—
त्यही धरती, जसलाई हामी
“आमा” भन्छौं।
अधुरो हाँसो बोकेका ती बालबालिका,
किन अझै ऐंठनझैँ टाँसिएका छन् स्मृतिमा?
त्यो कापी, त्यो कलम,
अझै कुर्दैछन्—
तर ती साना हातहरू
चिरकालको निद्रामा हराइसके।
देश त हाम्रो नै हो—
तर किन आफ्नै हातबाट
हाम्रो भविष्य छिनिन्छ?
किन आफ्नै आँगनमा
आगो बल्छ?
आज,
संसारका हरेक आकाशमुनि
देशको अन्तिम चिच्याहट गुञ्जिरहेछ।
हाम्रा आँसुहरू
नदीझैँ बगिरहेका छन्।
र, समयको यो कालो पानामा,
अक्षर–अक्षर
रगतले लेखिएको छ—
“भदौ २३ र २४ –
मानवताको अन्तिम परीक्षा।”