कवि तथा नेतृ इन्दिरा निरौलाको कविता “खरानीमाथि दशैं”

0 Shares

इन्दिरा निरौलाको कविता:

खरानीमाथि दशैँ ✦

देशको आकाश अझै धुवाँले ढाकिएको छ,
जहाँ भर्खरैका युवाका चित्कारहरू हावामा मिसिएका छन्।
एउटा छोराको आमा रित्तो काख अँगाल्दै रुँदैछिन्,
एउटा छोरीकी आमा अझै छोराको फोटो अँगाल्दै,
आफ्नो मुटु भत्किएको आवाज सुन्दैछिन्।

सडकमा पसिनासँगै बगेको रगत,
आज पनि कालो डामझैँ टाँसिएको छ।
न त आँसु सुक्यो, न त घाउ भरीयो,
तर कागजमा चाडपर्वको क्यालेन्डर पल्टिसकेको छ।

हो, दशैँ आउँदैछ,
तर यो दशैँमा खुशीभन्दा बढी मौनता छ।
टीका राख्ने निधारहरू हराएका छन्,
जसले आशीर्वाद दिने हातहरू,
अब खरानी बनेको घरको ढोकासँगै
माटोमा मिलिसकेका छन्।

ध्वस्त देवालयको ढुङ्गामा चिप्लिएको रगत,
अझै चिच्याइरहेको छ —
“यो विजयादशमी कसको विजय हो?”

देश जल्दा, सम्पदा खरानी हुँदा,
हजारौँ सपनाहरू ध्वस्त हुँदा —
कस्तो विजय? कसको उत्सव?

तर त्यो तिथी त आउँछै,
ढोल, नगारा बज्छन्, चिटिक्के लुगा फेर्ने चलन रहन्छ।
तर नेपाली मनभित्र,
मसला र मासुको गन्ध होइन,
बलिदानीको रगतको गन्ध छ।

यसपालिको दशैँ,
कसैको लागि चाड होइन —
बरु सम्झनाको घाउ हो।
यसपालिको जमरा,
हरियोभन्दा बढी रातो देखिन्छ।
यसपालिको टीका,
असीम आशीर्वादभन्दा बढी —
रगतको स्मरणजस्तो देखिन्छ।

इन्दिरा निरौला सिन्धुली जिल्लाको नेपाली कांग्रेसको महासमिति सदस्य हुन्। उनले गीत गजल कवितामा कलम चलाउँदै आएकी छिन् । उनको केही समय अगाडि तीज गीत पनि सार्वजनिक भएको थियो। उनलाई कसैले कविता कसैले नेत्री भनेर चिन्छन् ।

सम्बन्धित समाचारसबै