काठमाडाैं– नाबालिगमाथि बलात्कारको मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछाने डिप्रेसनको समस्या देखिएको छ। बरिष्ठ मनोपरामर्शविद् सुष्मा रेग्मीले सोमबार केन्द्रीय कारागारमा गएर लामिछानेलाई मनोपरामर्श दिएको लामिछानेका वकिल सरोजकृष्ण घिमिरेले जानकारी दिए। लामिछानेमा नकारात्मक सोचाइ बढेको लगायतका समस्या देखिएको छ। कारागारमा काउन्सिलिङका लागि छुट्टै कोठाको व्यवस्था नभएको हुँदा प्रभावकारी काउन्सिलिङ दिन गाह्रो हुने उनको वकिलकाे भनाइ छ।
सन्दीपमाथि १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोप छ। उनलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएपछि उनी सुन्धारास्थित केन्द्रीय कारागारमा छन्। गत मंगलबार काठमाडौं जिल्ला अदालतले पीडित किशोरीको उमेरसम्बन्धी अभिलेख अस्पतालबाट झिकाउन आदेश दिएको थियो। लामिछानेले १८ वर्षमुनिकी किशोरीमाथि बलात्कार गरेको आरोप भए पनि सन्दीपको पक्षले किशोरी १८ वर्ष मुनिको नभएको भन्दै आएका छन्।
उमेरसम्बन्धी विवाद भएपछि जिल्ला अदालतको इजलासले उनको जन्मसम्बन्धी अभिलेख अस्पतालबाट झिकाउन आदेश दिएको थियो। यस्तै इजलासले अर्का क्रिकेटर देव खनाल र मेडिकल गराएका चिकित्सकलाई समेत झिकाउन आदेश दिइएको छ। उनीहरूलाई यसअघि नै बोलाउँदा पनि नआएको भन्दै अदालतले त्यही आदेशलाई निरन्तरता दिइएको छ। उनीहरूको पुस २५ गतेसम्ममा बकपत्र गराइसक्न पनि भनिएको छ।
सन्दीपले १७ वर्षीय नाबालिगलाई गत भदौ ५ गते काठमाडौंको एक होटलमा पुर्याएर दुई पटक बलात्कार गरेको आरोप छ। भदौ ६ गते उनी टी-२० खेल खेल्न केन्या गएका थिए। पीडित नाबालिगले आफूमाथि बलात्कार भएको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्। सन्दीप लामिछानेलाई प्रहरीले असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो।
प्रहरीले उनीविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो। त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्ष सम्म कैद सजाय मागदाबी समेत गरेको छ। उक्त उपदफाको (घ) मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्ष देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।