सप्तरी– सप्तरीमा बोक्सीको आरोपमा कपाल मुण्डन गरेको कसुरको मुद्दा दर्ता गर्न प्रहरीले आनाकानी गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले मुद्दा दर्ता गर्न आनाकानी गरेपछि पीडित पक्षले सप्तरी–२ का सांसद डा. सिके राउतको कार्यालयमा गएर गुनासो गरेका छन् ।
सप्तरीको कञ्चनपुर नगरपालिकाको सो घटनाबारे आफूले उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई जानकारी गराएको डा. राउतले बताएका छन् । राउतको आग्रहपछि प्रहरीले बल्ल मुद्दा दर्ता गरेको छ ।
कञ्चनपुर नगरपालिकामा करिब ४५ वर्षीय महिलालाई बोक्सीको आरोप लगाएर कपाल मुण्डन गरिएको थियो । आफूलाई बोक्सीको आरोप लगाएर कपाल काटेको भन्दै पीडित महिला प्रहरीकहाँ पुगेकी थिइन् । सप्तरीका एसपीले सो घटना अन्देखा गरेपछि पीडित डा.राउतको कार्यालयमा पुगेकी हुन् ।
बोक्सीको आरोप लगाएर यातना दिने ५ जनाबिरुद्ध पीडितले किटानी जाहेरी दिएकी छिन् । आरोपीहरु फरार रहेका छन।
आरोपीहरुले कुटपिट गरेको चोटसहित पीडित प्रहरी कार्यालयमा पुग्दा पनि प्रहरीले बेवास्ता गरेको आरोप छ । डिएसपीले पीडीतलाई तत्काल घाउ जाँच फारम भरेर मेडिकल गर्न पठाएको दाबी गरेका छन् ।