काठमाडौं – कोशी प्रदेश नामाकरणपछि भएको विवादका विषयमा सरकारले छानविन गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानपछि आज बसेको बैठकले कोशी प्रदेशको नामाकरणपछि भएको विवादको विषयमा छानविन गर्न समिति गठन गर्ने निर्णय गरेको हो । प्रदेश– १ को नाम कोशी राखिएपछि ‘प्रदेश– १ पुन नामाङ्कन संयुक्त संघर्ष समिति’ले विभिन्न आन्दोलन गरिरहेको छ ।
पहिचानलाई नामेट हुनेगरी प्रदेशको नामाङ्कन गरिएको भन्दै उक्त समितिले पहिचानसहितको पुननामाङ्कन हुनुपर्ने भन्दै आन्दोलन गरिरहेको हो । उक्त आन्दोलन अन्तर्गत चैत ५ गते विराटनगरमा भएको प्रदेशनका क्रममा प्रहरी र आन्दोलनकारीबीच भएको संघर्षका क्रममा घाइते भएका पदम लिम्बूको शुक्रबार उपचारको क्रममा धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा निधन भएको थियो ।
उनी संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नेता हुन् । उक्त घटनाक्रमप्रति सरकार गम्भीर रहेको भन्दै सरकारले छानविन गर्ने भएको हो । अब उक्त घटनाको सम्बन्धमा गृहमन्त्रालयले समिति गठन गरी तत्काल छानबिन अघि बढाउने सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।