साढे २ लाख रुपैयाँमा स्कुटर बिक्री गर्दै एफडी मोटर्स

0 Shares

काठमाडौं – एफडी मोटर्स नेपालले दुई मोडेलका इलेक्ट्रिक स्कुटर नेपाली बजारमा बिक्री गर्ने तयारी गरेको छ । कम्पनीले आउँदो वैशाख दोस्रो सातादेखि ‘एफ फाइभ’ र ‘एफ फाइभ ए’ मोडेलका दुई इलेक्ट्रिक स्कुटर बिक्री गर्न लागेको जानकारी दिएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजन ढुंगेलले नेपाली बजारका लागि आफ्नै पहलमा स्कुटर एसेम्बल गरी बिक्री गर्ने तयारी भइरहेको जानकारी दिए ।

स्कुटरमा प्रयोग भएका ब्याट्री, मोटर, टायर तथा अन्य पार्टहरू उत्कृष्ट निर्माताहरूबाट खरिद गरिएको बताउँदै उनले स्कुटरका हरेक पक्ष बलियाे रहेको दाबी गरे । साथै राष्ट्रिय आविष्कार केन्द्रका अटोमोबाइल र इलेक्ट्रिकल इन्जिनियरहरूसँग स्कुटरका लागि सहकार्य गरिएको उनले बताए ।

आगामी दिनमा भैरहवामा पूर्ण क्षमताको एसेम्बल प्लान्ट खोल्ने तयारी भइरहेको पनि उनले जानकारी दिए । साथै आफ्नो इलेक्ट्रिक स्कुटर बजारका अन्य कम्पनीको भन्दा निकै सस्तो र गुणस्तरीय हुने सीईओ ढुंगेलको दाबी छ ।

”हामीले स्कुटरमा बेस्ट म्यानुफ्याक्चरको बेस्ट कम्पोनेन्ट राखेका छौँ,” उनले भने, ”हामी आफैंले एसेम्बल गर्ने र सिधै बजारमा पठाउने भएकाले मूल्य कम राखेका हौँ ।” प्रशासनिक, शोरुम र अन्य खर्च कम हुने भएकाले लागतभन्दा धेरै नाफा लिएर स्कुटर बिक्री नगर्ने उनको भनाइ छ । ढुंगेलका अनुसार ‘एफ फाइभ’ को मूल्य साढे दुई लाख र ‘एफ फाइभ ए’ को मूल्य दुई लाख ९० हजारको हारहारीमा हुनेछ । यी स्कुटरमा लिथिमय आइरन फस्पेट ब्याट्री प्रयोग गरिएको र अधिकतम ११० किलोमिटरसम्म रेन्ज दिने उनको भनाइ छ । त्यस्तै ब्याट्री र मोटरमा तीन वर्ष वारेन्टी पाइने उनले बताए ।

सम्बन्धित समाचारसबै