उपनिर्वाचनका लागि रास्वपाका उम्मेदवारको नामावली सार्वजनिक

0 Shares

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० गते हुने तीन निर्वाचन क्षेत्रको उपनिर्वाचनका लागि उम्मेदवारको नामावली सार्वजनिक गरेको छ। पार्टीले एक विज्ञप्ति जारी गर्दै चितवन, तनहुँ र बारामा हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको हो।

रास्वपाले चितवन-२ मा रवि लामिछानेलाई उम्मेदवार सिफारिस गरेको छ। तनहुँ-१ मा डाक्टर स्वर्णिम वाग्ले, ईश्वर लामिछाने र डाक्टर रूपक विक घिमिरेको नाम सिफारिस गरिएको छ। बारा-२ मा रास्वपाले रमेश खरेल र युवराज न्यौपानेको नाम सिफारिस गरेको छ।

तनहुँमा तीन जनाको नाम सिफारिस भए पनि पार्टीले यहाँ स्वर्णिम वाग्लेलाई र बारा-२ मा रमेश खरेललाई उम्मेदवार बनाउने भएको रास्वपा स्रोतले जनाएको छ। पूर्व डिआइजी खरेल सुशासन पार्टी खोलेर गत निर्वाचनमा काठमाडौँ-१ बाट उठेका थिए। यसपालि उनलाई रास्वपाले बारा-२ बाट उम्मेदवार बनाउन लागेको हो। रास्वपाले यी प्रारम्भिक उम्मेदवारीउपर दाबी विरोध गर्न चैत १७ गते बिहान ११ बजेसम्मको समय दिएको छ।

चितवन- २ मा यसअघिका प्रतिनिधि सभा सदस्य रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भई पदमुक्त भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। यस्तै, बारा- २ मा रामसहायप्रसाद यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। जसपाबाट उम्मेदवारी दिएर विजयी भएका उनी उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

यसैगरी, तनहुँ- १ मा रामचन्द्र पौडेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। नेपाली कांग्रेसबाट विजयी भएका उनी राष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

सम्बन्धित समाचारसबै