बसन्तपुरमा ‘नेपाल टूरिजम फेस्टिभल’ हुने

0 Shares

काठमाडौँ – नयाँ वर्षको अवसरमा बैशाख १ र २ गते काठमाडौंको बसन्तपुरमा ‘नेपाल टूरिजम फेस्टिभल’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र काठमाडौँ महानगरपालिकाको सहयोग र एनटीपी मल्टिमिडिया ग्रुपको आयोजनामा पहिलोपटक नेपालमा पर्यटनको नीतिगत छलफल र बहस गर्ने उद्धेश्यले खुल्ला रुपमा नेपाल टूरिजम फेस्टिभल हुन लागेको हो ।

आइतबार अनामनगरको युनियन हाउसमा पत्रकार सम्मेलन गरेर नेपाल टूरिजम फेस्टिभलको घोषणा गरिएको हो । यस वर्षदेखि सुरु हुने फेस्टिभल हरेक वर्ष हुनेछ । नेपालको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनसँगै पर्यटनको नीतिगत कुरालाई केलाउन फेस्टिभलको आयोजना गरिएको आयोजक एनटीपी मल्टिमिडिया ग्रुपका अध्यक्ष तथा फेस्टिभल संयोजक विष्णु विवेकले जानकारी दिए ।

दुई दिने फेस्टिभलमा न्युनतम १० देखि अधिकतम १५ वटा सेसनहरु सञ्चालन हुनेछन् । फेस्टिभलको उद्घाटन सेसन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हुनेछ । यस्तै अन्तिम सेसन ‘पर्यटनमा राजनीति मिसन, भिजन र भिजिट नेपाल’ पर्यटनमन्त्री सुदन किराँतीको हुने आयोजक एनटीपी मल्टिमिडिया ग्रुपले जनाएको छ । फेस्टिभलमा विभिन्न विधामा पर्यटन केन्द्रित गरेर सेसन सञ्चालन हुनेछन् ।

सम्बन्धित समाचारसबै