काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले काठमाडौं महानगरपालिकाले सिंहदरबारभित्रको फोहोर नउठाएर जनस्वास्थ्यमाथि खेलबाड गरेको बताइन् । बिहीवार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले काठमाडौं महानगरपालिकाले सिंहदरबारभित्रको फाेहोर नउठाएर जनस्वास्थ्यमाथि खेलबाड गरेको बताइन्।
सञ्चारमन्त्री शर्माले भनीन्न्, ‘‘स्थानीय तह पनि सरकार हो । त्यसले संविधान पनि बुझ्नुपर्छ । त्यसले नीति पनि बुझ्नुपर्छ । कानून पनि बुझ्नुपर्छ र त्यो अनुसार चल्नुपर्छ । हाम्रो कैयौँ नीतिगत व्यवस्था, संविधानका व्यवस्था, कानूनमा भएका व्यवस्था हामीलाई चित्त नबुझेका पनि हुनसक्छन् । त्यो कुरा बेठीक पनि लाग्न सक्छन् तर या त्यसलाई परिवर्तन गर्ने सामर्थ्य राख्नुपर्छ ।’’
मन्त्री शर्माले , ‘‘हामी जनप्रतिनिधि मान्छेले कानून, संविधान मान्दैनौँ भन्यौँ भने हुन्छ के ? यसले के खालको सन्देश जान्छ र समाजमा के प्रभाव पार्छ ? कस्तो सन्देश प्रवाह गर्छ भन्ने कुरा त सकारात्मक सन्देश त प्रवाह गर्दैन । संविधानको अनुसूची–८ मा एकल अधिकार क्षेत्र भित्रमा फोहोरमैला व्यवस्थापनको कुरा स्थानीय तहको हुनेछ भन्ने कुरा स्पष्ट छ ।’’
स्थानीय सरकार सञ्चालन ऐनको दफा ११ हेर्याै भने त्यहाँ बुँदागत रुपमा के–के गर्ने स्थानीय सरकारले भनेर त्यो कुरा लेखिएको छ तर त्यो लेखिएको विषयलाई अर्को कुनै उद्देश्य पूर्तिका निमित्त र अर्को कुनै कामलाई सल्ट्याउनका निमित्त हड्तालको विषय बनाउनु हुन्न । किनभने यो गर्मीको समय, आम जनताको स्वास्थ्यसँग जोडिएको विषय, यो धेरै संवेदनशील विषय हो । त्यसकारण जिम्मेवार पदाधिकारीले यस्तो विषय बोल्नु, यस्ताखालका कदम चाल्नु भनेको कुरा राम्रो होइन । यसले राम्रो सन्देश दिँदैन । यसले जनस्वास्थ्य माथिको खेलबाड पनि ठहर्छ ।
‘‘संघीय सरकारले सहजीकरण गरेर टुंग्याउनुपर्ने विषयमा त छलफल गर्नुपर्यो । उहाँले भनेको विषय टुंगिएन भनेको अर्थमा जनताको स्वास्थ्यमाथि खेलबाड गर्न पाइँदैन । त्यो गर्न हुँदैन । काठमाडौँ महानगरपालिकाको मेयरजस्तो मान्छेले संविधान बुझ्नु भएन, कानून बुझ्नु भएन, सरकार सञ्चालन ऐन बुझ्नु भएन भन्न हामी सक्दैनौँ । त्यो उहाँले बुझ्नु भएको छ । बुझ्नुपर्छ र त्यसको दृढतापूर्वक कार्यान्वयन पनि गर्नुपर्छ भन्ने कुरा नै हाम्रो कुरा हो ।’’ सञ्चारमन्त्री शर्माले बताइन्