काठमाडौँ – नयाँवर्ष २०८० को आगमनसँगै खुसी मनाउन र सूर्योदय हेर्न विगत तीनदेखि भक्तपुरका पर्यटकीय क्षेत्र नगरकोटदेखि रानीकोटसम्मका होटल विदेशी तथा स्वदेशी पर्यटकले भरिएका छन् । कोरोना भाइरसका कारण सुनसान बनेको भक्तपुरका पर्यटकीय क्षेत्रमा विदेशीभन्दा बढी स्वदेशी पर्यटकको आगमनले पर्यटकीयस्थल खचाखच भएपछि व्यवसायी उत्साहित छन् ।
नयाँ पर्यटकीय गन्तव्य बन्दै आएको सूर्यविनायक नगरपालिका–७ गुण्डु र ८ सिपाडोलको सङ्गमस्थल ऐतिहासिक रानीकोटमा अधिकांश होटल आन्तरिक पर्यटकले नै भरिएको पर्यटन व्यवसायी एवं भिलेज हाइल्याण्ड रिसोर्ट रानीकोटका सञ्चालक रामसुन्दर बकेँले बताए ।
चैत मसान्तदेखि वैशाख ३ गतेसम्म होटल बुकिङ भइसकेको र यहाँका सबै होटल आन्तरिक पर्यटकले भरिएको उनले बताए। नयाँ वर्षका लागि दुई साता अगाडिदेखि नै यहाँका होटल बुक भएका थिए ।
समुद्री सतहबाट दुई हजार मिटर उचाइमा रहेको सूर्यविनायक र काभ्रेको पनौती नगरपालिकाको सिमानामा पर्ने रानीकोटबाट काठमाडौँ उपत्यका र भक्तपुर नगर मात्र होइन, बिभिन्न हिमशृङ्खला अवलोकन गर्न सकिन्छ । होटल व्यवसायी बकेँ भन्छन्, “नयाँवर्षमा आन्तरिक पर्यटक खचाखच भएका छन् । अब भने पर्यटन व्यवसाय पुनःचलायमान हुने आशा पलाएको छ ।”
होटल व्यवसायी तथा घ्याम्पेडाँडा रिसोर्टका सञ्चालक राजेन्द्र प्याथले घ्याम्पेडाँडा–रानीकोट पक्की सडक नर्माण भएसँगै पर्यटकको आगमन ह्वात्तै बढेको बताए। उनले सूर्यविनायक–रानीकोट–आशापुरी एवं सूर्यविनायक–रानीकोट–फुल्चोकी पदयात्रा मार्ग र रानीकोट, आशापुरी, बोकाचो गढी पर्यटकको रोजाइमा पर्न थालेपछि आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको बताए ।