0
Shares
काठमाडौं – हाल देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ।
दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सफा रहने छ। महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थान र बाँकी पहाडी भू–भागका एक दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
त्यस्तै लुम्बिनी प्रदेशका तराई भूभागमा हावाहुरी र उपत्यका लगायत केही स्थानमा तुवाँलोको सम्भावना रहेको महाशाखाले जनाएको छ। राती भने पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। महाशाखाले चट्याङ र हावाहुरीबाट क्षति हुन नदिन सतर्कता अपनाउन अनुरोध गरेको छ।