काठमाडौँ- तीन महिनाभित्र वीर अस्पतालमा जलन उपचार कक्ष (बर्न वार्ड) सञ्चालन गर्ने घोषणा भएको समय व्यतीत हुन लाग्दा सामान्य भौतिक पूर्वाधार मात्र तयार भएको छ। दुई महिनामा सामान्य भौतिक पूर्वाधार तयार भएको छ भने आवश्यक उपकरण र जनशक्तिको व्यवस्था अझैसम्म भएको छैन।
नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी २०७९ फागुन ३ गते राति ग्यास विस्फोटमा परेर घाइते हुँदा नेपालमा उपचार हुन सम्भव नभएपछि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा थप उपचारका लागि लगिएको थियो। सोही घटनामा उनकी आमाको भने निधन भएको थियो।
कार्यकारी निर्देशक डा. पौडेलले भौतिक पूर्वाधार तयार भए पनि उपकरण र जनशक्ति आवश्यक रहेको जानकारी दिए । उनले जलन उपचार कक्ष निर्माणका लागि प्लास्टिक सर्जन डा. पशुपतिबाबु पोखरेलको संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदनका आधारमा काम अघि बढिसकेको बताए ।
उक्त समितिले जलन वार्ड कहाँ राख्ने, कति क्षमताको हुने, जनशक्ति कति राख्ने, अन्य उपकरण के कति राख्ने भन्ने विस्तृत विवरणसहितको प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमा जनशक्ति, भौतिक पूर्वाधार र उपकरणलगायतको प्रक्षेपण छ। यो समाचार गोरखापत्र दैनिकमा छ ।