काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै खहरे खोला सुक्ने टिप्पणी गरेका छन् । तनहुँमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले भने, ‘कहिलेकाहीं खहरे खोला उर्लिएर आउँछ, डरलाग्दोगरी आउँछ । तर, त्यो सुक्नेवाला छ । नदी गम्भीर ढंगले महासागरतिर लम्किरहन्छ, यो कुरा नभुलौं ।’
उनले कुनै आँधी, हुरी र बताससँग नआत्ती सतिसाल झैं खडा भएर शान्ति, संविधान र विकासको निम्ति उभिन आग्रह गरे । एमालेसहित सात दलीय गठबन्धनबाट प्रधानमन्त्री हुँदा पनि आफूलाई चैन नभएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले स्वाभाविक गठबन्धन यही भएको बताए ।
उनले भने, ‘भ्रष्टाचार र वेथिति रोक्न ठुलो कदम चालिएको छ । केही कठोर कदम चालिएको छ। हिजो अस्तिमात्रै । हिजोको मात्रै क्याविनेट निर्णय तपाईहरुले हेर्नु होला । कुरा गहिरो छ । कुरो धेरै गहिरो । ठुल ठुला गफ हान्नेहरुको असलियत के हो भन्ने कुरा हामीले देखिराखेका छौं ।’
उनले नयाँ पार्टीलाई खहरेको संज्ञा दिँदै पुराना पार्टीलाई कम नआँक्न चेतावनी दिए । ‘खहरे सुक्ने वाला छ । नदी बगीरहन्छ ।’ उनको भनाई छ ।