काठमाडौंँ – नयाँ ‘मिष्टर नेपाल’ को खोजी सुरु भएको छ । आयोजक नेक्स्ट मोडल्सले एक विज्ञप्ति जारी गर्दै मिष्टर नेपालको नयाँ संस्करण अर्थात ‘मिष्टर नेपाल २०२३’ को आवेदन खुल्ला भएको जनाएको हो । यो पटक मिष्टर नेपाल ‘न्यु लुक मिष्टर नेपाल’ को नामबाट आयोजना हुनेछ । प्रतियोगिता न्यु लुक ब्युटिफर लाइफले प्रायोजन गरेको कारण प्रतियोगिताको नामको अगाडि न्यु लुक राखिएको हो ।
नेक्स्ट मोडल्सले जारी गरेको विज्ञप्तिमा १६ वर्षदेखि ३२ वर्ष ननाघेका युवाहरुले प्रतियोगिताका लागि आवेदन लिनसक्ने उल्लेख गरिएको छ । प्रतियोगितामा विश्वका जुनै कुनामा रहेका ५ फिट ८ इन्च माथि उचाई भएका नेपाली नागरिकले मात्र सहभागिता जनाउन सक्नेछन् । प्रतियोगिताको अडिसन वैशाख २९ गते दमकबाट सुरु हुनेछ । त्यसपछि ३० गते विराटनगर, ३१ गते जनकपुर, जेठ २ गते चितवन, ३ गते बुटवल, ६ गते पोखरा र १३ गते काठमाडांैमा आयोजना हुनेछ । आयोजक नेक्स्ट मोडल्सले योपटक प्रदेश नम्बर १ मा रोनक अग्रवाल, मधेश प्रदेशमा विक्रम आदित्य महासेठ, लुम्बिनी प्रदेश प्रशान्त शाह, गण्डकी प्रदेशमा आशिष पुरी प्रदेश निर्देशक समेत नियुक्त गरेको छ ।
प्रतियोगिताको शीर्ष विजेताले ‘मिस्टर वल्र्ड २०२३’ वा ‘मिष्टर ग्लोवल २०२३’ मा नेपालको प्रतिनिधित्वको अलवा ५ लाख बराबरको पुरस्कार हात पार्नेछन् । युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उदेश्यले यो प्रतियोगिता २००१ देखि नियमित आयोजना हुँदै आएको हो । प्रतियोगितामा सहभागिताका लागि आवेदन फर्म खल्ती एपबाट भर्न सकिनेछ ।