0
Shares
केही सामुदायिक विद्यालयमा भर्ना हुने नयाँ विद्यार्थीको चाप थेगिनसक्नु छ। विद्यार्थी भर्ना गरिदिन निकै माथिल्लो तहबाट चर्को दबाब पनि उनीहरूले खेप्नु परिरहेको छ। वरपर निजी विद्यालय प्रशस्त हुँदा पनि अभिभावक र विद्यार्थीको आकर्षण तिनै सामुदायिक विद्यालयप्रति रहँदै आएको छ। यसले सामुदायिक विद्यालयप्रतिको छवि सुध्रिँदै गएको सङ्केत गरेको छ।
विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तोष पोखरेलले प्रदेश मन्त्रालयका सचिवदेखि सङ्घीयमन्त्रीका स्वकीय सचिवसम्मले विद्यार्थी भर्नाका लागि चर्को दबाब दिएको बताउँदै भने, “भर्ना नगरिदिएको भन्दै धेरै जना रिसाए। अहिले पनि दबाब खेपिरहेका छौँ। दैनिक थुप्रै फोन आइरहेकै छन्। भर्नासम्बन्धी सानो काम गरिदिएनन् भन्ने आरोप जनप्रतिनिधिले पनि लगाइरहेका छन् तर त्यस्ता दबाबलाई बेवास्ता गर्दै आएका छौँ।”