प्रयोगात्मक परीक्षामा गयल देखाएपछि आरआर क्याम्पसका विद्यार्थीहरू आन्दोलित

0 Shares

काठमाडौँ – रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा बीए दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् । बीए प्रथम वर्षको नतिजामा क्याम्पसले गम्भीर लापरबाही गरेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् । उनीहरू क्याम्पस प्रशासनसँग ८ बुँदे माग राखेका छन् । बीए प्रथम वर्षको आन्तरिक तर्फको परीक्षा दिएका ९० प्रतिशतभन्दा बढी विद्यार्थीको नतिजामा अनुपस्थित देखाएको छ । विशेषगरी अंग्रेजी विषयमा यस्तो समस्या बढी देखिएको हो ।

आन्तरिक परीक्षामा उपस्थित भएर परीक्षा दिएका विद्यार्थीहरूको नतिजामा भने अनुपस्थित देखाएपछि क्याम्पसको लापरबाही गरेको भन्दै विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन् । बीए प्रथम वर्षको परीक्षाको नतिजामा गडबडी र प्राध्यापक लोकनाथ कोइरालाको राजीनामाका विषयसहित ८ बुँदे माग राख्दै विद्यार्थीहरूले आन्दोलन गरेका छन् ।

सम्बन्धित विषय शिक्षकले दिए राजीनामा:

विद्यार्थीमाथि अन्याय भएको भन्दै विषय शिक्षकले राजीनामा दिएका छन् । अंग्रेजी विषय पढाउँदै आएका शिक्षक लोकनाथ कोइरालाले क्याम्पस प्रमुखलाई राजीनामा पेश गरेका हुन् । तर, उनको राजीनामा स्वीकृत भएको छैन ।

उनले ७ पेज लामो पत्र लेख्दै राजीनामा दिएका हुन् । विद्यार्थीहरूले यो विषयमा गल्ती अन्यले गरेपनि शिक्षक कोइरालालाई राजीनामा गर्न लगाइएको बताएका छन् ।

होनहार विद्यार्थीको उचित मूल्यांकन गर्ने काममा चुक्दा भएको जघन्य भुलले आफूलाई फेरि विद्यार्थी मूल्यांकन गरेर नम्बर लेख्ने साहस नआएको कोइरालाको भनाई छ । कोइरालाले क्याम्पसमा आउन मन नलागेको भन्दै विद्यार्थीको हातमा राजीनामा पत्र पठाएको बताए । २०७७ सालमा बीए प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरूको २०७८ सालमा परीक्षा सम्पन्न भएको थियो । शिक्षक कोइरालाले आन्तरिक परीक्षाको समयमा भएको घटनाबारे समेत राजीनामा पत्रमा उल्लेख गरेका छन् । ‘…परीक्षा सकिएपछिको क्षण म र मेरा समकक्षी, समय सकिएपछि बटुलिएका कापी मिलाउँदै थियौं । १८ नम्बर कोठामा । कापीको रोलनम्बर मिलाउँदै पोका बनाउँदै गरेका हाम्रो अगाडि निर्देशन दिँदै जाँच चलाउन लगाएका परीक्षा तथा विद्यार्थी कल्याणकारीका देवी घिमिरे ज्यू आइपुग्नुभयो र खाली कापी र प्रश्नपत्र माग्नु भयो । जुन कुरा हामीले नमानेपछि एउटा खाली कापी र प्रश्नपत्र थुतेर त्यहाँबाट जानु भयो,’ उनले राजीनामा पत्रमा उल्लेख गरेका छन् । कोइरालाले राजीनामा पत्रमा त्यो बेला भएको सबै कुराको बेलिबिस्तार लगाएका छन् ।

सम्बन्धित समाचारसबै