0
Shares
एजेन्सी– पाकिस्तानमा पूर्व प्रधानमन्त्री तथा तहरीक–ए–इन्साफका प्रमुख इमरान खानको गिरफ्तारीको अवस्था देखिएको छ । समाचार एजेन्सी एपीपीका अनुसार लाहोर उच्च अदालतले गत बिहीबार इमरान खानको जमानत आवेदन खारेज गरेको छ ।
गत वर्ष इमरान खानविरुद्ध इस्लामाबादको सांगजानी पुलिस स्टेसनमा आतंकवादसँग सम्बन्धित धाराअन्तर्गत एफआईआर दर्ता गरिएको थियो । यस मामिलामा इमरान खान आतङ्कवाद विरोधी अदालतले आफ्नो अन्तरिम जमानतको निवेदन खारेज गरेपछि लाहोर उच्च अदालत पुगेका थिए ।
यस घटनाक्रमपछि पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाह खानले इमरान खान पक्राउ पर्नुपर्ने बताएका छन् । उनले भने, ‘मेरो विचारमा इमरान खानलाई पक्राउ गर्नुपर्छ किनभने उनले न्याय व्यवस्थाको मजाक उडाइरहेका छन् ।’ यससँगै उनले इमरान खानलाई तत्काल पक्राउ गर्न सरकारसँग कुरा गर्ने बताए ।